गृहपृष्ठ शिक्षक र विद्यार्थीमा पढ्ने बानी बसाउन तीनघण्टे पठन मेला
शिक्षक र विद्यार्थीमा पढ्ने बानी बसाउन तीनघण्टे पठन मेला
विद्यार्थीमा पढ्ने बानीको विकास गराउन पाल्पाको रामपुर नगरपालिका–८ मा रहेको गंगा माध्यमिक विद्यालयले पुस्तक पठन मेला सुरु गरेको छ । कक्षा शिक्षणसँग सम्बन्धित पाठ्यपुस्तकबाहेक विभिन्न क्षेत्रका पुस्तक नियमित पढ्ने बानी बसाल्न विद्यालयले पुस्तक पठन मेला कार्यक्रम सुरु गरेको हो ।
शुक्रबारे अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयले तीन घण्टा शिक्षक र विद्यार्थीलाई एकैसाथ पुस्तक पठन सीप मेलामा सहभागी गराएर कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीलाई किताब पढ्ने बानीको विकास गराउन नयाँ शैक्षिक कार्यक्रम सुरु गरिएको प्रधानाध्यापक देवराज देवकोटाले बताए ।
‘पुस्तक पठन मेलाले विद्यार्थीमा उत्साह बढ्दो छ, विद्यार्थीलाई पाठ्यपुस्तकबाहेक थप बाहिरी क्षेत्रका ज्ञान सीप सिकाउन यस वर्ष शैक्षिक कार्यक्रमअन्तर्गत नयाँ कार्यक्रमका रुपमा पुस्तक पठन मेला कार्यक्रम सुरुवात गरेका छौँ,’ उनले बताए ।
पाठ्यपुस्तकमा मात्र नभई बाहिरी कुराको ज्ञान सिकाउन गरिएको सो कार्यक्रम विद्यार्थीका लागि अत्यन्तै राम्रो रहेको कक्षा १० मा अध्ययनरत छात्रा साधना न्यौपानेले बताइन् ।
विद्यालयले कक्षा ३ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई उक्त मेलामा समावेश गराइएको छ । पाठ्यपुस्तकमा मात्र केन्द्रित नभई विभिन्न क्षेत्रसँग सम्बन्धित कुरा जान्ने र बुझ्ने अवसर विद्यालयले सिर्जना गरेको कक्षा १० कै छात्र सन्तोष श्रेष्ठले बताए ।
उक्त कार्यक्रम सुरु गरेपछि ठूलाठूला वैज्ञानिक तथा आविष्कारका पुस्तक, पुराना तथा नयाँ पुस्तक खोजीखोजी विद्यार्थीले पढ्न थालेका बताइएको छ । बाह्य किताब पढ्ने बानीको विकासका लागि पुस्तक पढ्ने मेलाको आयोजना गरेको विद्यालयले जनाएको छ । नमुना विद्यालयका रूपमा छनोटमा परेको यस विद्यालयमा पर्याप्त खेलमैदान, प्रयोगात्मक सामग्री, पुस्तकालयको राम्रो प्रबन्ध छ । (रासस)
प्रकाशित समय १३:५४ बजे

















