गृहपृष्ठ अमेरिकी भिसामा अझ कडाइ
अमेरिकी भिसामा अझ कडाइ
केही दिनअघि नेपालका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेले अमेरिकामा हुने एक क्रिकेट टुर्नामेन्टमा भाग लिन जाने क्रममा भिसा आवेदन गरेपछि अमेरिकी दूतावासले सुरुमा उनलाई भिसा दिन अस्वीकार गरिदियो ।
सामाजिक सञ्जालमा उनले आफू अमेरिका लुक्न जान नलागेको भन्दै गुनासो गरेपछि दूतावासले फेरि बोलाएर भिसा दियो । तर, सबैलाई सन्दीपलाई जस्तै सहज नहुन सक्छ ।
विश्वभरिकै नागरिकका लागि अमेरिका स्वप्निल गन्तव्य हो । चाहे डीभी परेर होस् वा आफन्तका स्पोन्सर गराएर वा रोजगारी, अध्ययनका भिसामा किन नहोस् । धेरैले एक पटक अमेरिका जाने प्रयास गरेकै हुन्छन् ।
तर, अहिले अमेरिकाको ट्रम्प प्रशासनले अवैध आप्रवासीहरूको नियन्त्रणका लागि हालै नयाँ आप्रवासन व्यवस्थान नीति लिएपछि धेरै नेपालीहरूको भिसा आवेदन अमेरिकी दूतावासले ‘रिजेक्ट’ गर्न थालेको छ ।
यहाँ बसेका नेपालीहरूले मात्र होइन, अब अमेरिका बस्दै आएका नेपालीहरूले समेत सजिलैसँग ‘पर्मानेन्ट रेसिडेन्स’को प्रमाणपत्र अर्थात् बोलिचालीको भाषामा ‘ग्रिन कार्ड’ नपाउने भएका छन् ।
ट्रम्प प्रशासनले ‘इमिग्रेसन एन्ड नेसनालिटी एक्ट (आईएनए)ले दिएको अधिकार प्रयोग गर्दै अमेरिकामा स्थायी बसोबाससम्बन्धी व्यवस्थामा पुनरावलोकन गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अब वार्षिक ६ लाख ७५ हजार जनालाई मात्र स्थायी आप्रवासनको अनुमति दिइने भएको छ । यीमध्ये ४ लाख ८० हजार पारिवारिक ‘स्पोन्सर्ड’ आप्रवासी, १ लाख ४० हजार रोजगारीमा आधारित आप्रवासी र ५५ हजार डिभी चिठ्ठाका माध्यमबाट भित्रने आप्रवासी रहनेछन् ।
उच्चस्तरको क्षमतासहित भित्र्याइने रोजगारी (एचवानबी) भिसामा पनि प्रत्येक मुलुकका लागि ७ प्रतिशतको सीमा (क्याप) तोएिको छ ।
ट्रम्प प्रशासनले कुनै पनि मुलुकलाई ७ प्रतिशतभन्दा बढी उच्च दक्षतायुक्त रोजगार भिसा नदिने नीति लागू गरेपछि सबैभन्दा ठूलो असर भारत र चीनलाई पर्नेछ । सन् २०१७ को तथ्यांकअनुसार अमेरिका कुल दक्ष रोजगारमध्ये १८ प्रतिशत भारतीय छन् भने १९ प्रतिशत चिनियाँ । यद्यपि, अन्य एसियाली मुलुकले यस्तो भिसामा कम आवेदन गरेकाले करिब २५ प्रतिशत भारतीयहरू यो भिसामा अमेरिकामा कार्यरत रहेको अनुमान छ ।
नयाँ प्रबन्धअनुसार खेलाडीहरूले पनि ‘एक्स्ट्राअर्डिनरी’ वर्गबाट ‘इबी–वनए’ भिसा पाउने व्यवस्था गरिएको छ, सन्दीप लामिछाने यही वर्गको भिसा पाएर अमेरिका गएका हुन् ।
अमेरिका ग्रिनकार्ड पाउनका लागि व्यक्तिको योग्यता, उपलब्ध कागजातअनुसार औसतमा १८ देखि २४ महिनादेखि ३ वर्षभन्दा बढी समय लाग्ने गरेको छ । अमेरिका बस्ने नेपालीहरूले ट्रम्प प्रशासन आएदेखि कागजी प्रक्रिया पूरा गर्नै एक वर्ष लाग्ने गरेको बताएका छन् ।
अमेरिकामा कति छन् नेपाली?
अमेरिकामा कति नेपाली छन् भन्ने आधिकारिक तथ्यांक छैन । सबैभन्दा पछिल्लो ‘इयरबुक अफ इमिग्रेसन स्टाटिक्टिस–२०१७’ अनुसार सन् २००८ देखि २०१७ सम्म अमेरिकामा स्थायी बसोबासका अनुमति पाएका नेपालीहरूको संख्या करिब १ लाख (९९ हजार ९९०) छ ।
सन् २००८ मा ४ हजार ९३ नेपालीले स्थायी बसोबासका अनुमति पाएकोमा यो सन् २०१७ मा ११ हजार ६१० पुग्यो । यद्यपि, यो त्यसभन्दा अघिल्ला वर्षहरूभन्दा घटेको हो । सन् २०१६ मा १२ हजार ८५१, २०१५ मा १२ हजार ९२६ र २०१४ मा १३ हजार ४६ नेपालीले ग्रिनकार्ड पाएका थिए ।
गैरआवासीय भिसामा अमेरिका पुग्ने नेपालीहरूको संख्या भने बढेको छ । सन् २००८ मा २० हजार ९२४ नेपाली गैरआवासीय भिसामा अमेरिका पुगेकोमा सन् २०१७ मा ३९ हजार ६२ जना पुगे ।
यीमध्ये ठूलो संख्या विद्यार्थी र अस्थायी पारिवारिक स्पोन्सरमा अमेरिका पुगेका थिए । उच्चस्तरीय रोजगार भिसा (एचवानबी) पाएर जाने नेपालीहरूको संख्या १ हजार पनि छैन भने ‘एक्सट्रा अर्डिनरी भिसा’पाउने नेपाली वर्षमा ५–७ जनामात्रै हुने गरेका छन् ।
यसरी जानेमध्ये अधिकांस उतै अवैध रूपमा लुकेर बस्ने र पछि प्रक्रिया मिलाएर ग्रिन कार्ड आवेदन गर्ने गर्छन् । सन् २०१७ मा १४ हजार १९६ नेपालीले ग्रिन कार्डका लागि आवेदन गएकोमा साढे ११ हजारले मात्र पाएका थिए ।
शरणार्थी स्टाटस
अवैध रूपमा अमेरिका पुग्ने, त्यहाँ पुगेर पासपोर्ट च्यातेर फ्याँक्ने धेरै नेपालीले अमेरिकामा शरणार्थीका रूपमा बस्न आवेदन दिने गरेका छन् । अमेरिकी आप्रवासन विभागका तथ्यांकअनुसार सन् २०१७ मा ३ हजार २८७ नेपालीहरूले शरणार्थीका रूपमा स्थायी आप्रवासनका लागि आवेदन दिएका थिए ।
प्रकाशित समय १४:०९ बजे

















