गृहपृष्ठ नेपालगञ्ज-लखनऊ मैत्री बस सञ्चालन हुँदै

नेपालगञ्ज-लखनऊ मैत्री बस सञ्चालन हुँदै

भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल-भारत मैत्री बस सञ्चालन हुने भएको छ ।

सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज-लखनऊ नेपाल-भारत मैत्री बस सेवा सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार प्रत्येक दिन उत्तरप्रदेश परिवहन निगम र भेरी यातायात प्रालिको एक-एक बस नेपालगञ्जबाट लखनऊ र लखनऊबाट नेपालगञ्जका लागि सञ्चालन हुनेछन् । भेरी यातायातले भारतको लखनऊ, नयाँदिल्ली र हरिद्वारका लागि मैत्री बस सेवा सञ्चालन गर्न सरकारबाट अनुमति प्राप्त गरेको छ ।

पुसदेखि वैधानिकरूपमा नेपालगञ्ज-दिल्ली मैत्री बस सेवा सञ्चालन गर्दै आएकोे भेरी यातायातले अब उत्तर प्रदेशको राजधानी लखनऊका लागि नेपालगञ्जबाट सीधा बस सेवा सञ्चालन गर्न लागेको हो । बिरामी तथा किनमेल गर्न जानेहरुको सुविधालाई ध्यानमा राखी बस सेवा सञ्चालन गर्न लागेको अध्यक्ष गिरीले बताए ।

अहिले सीमावर्ती भारतीय बजार रुपैडिहाबाट ट्याक्सी तथा बस चढेर लखनऊ जानु पर्ने बाध्यता छ । लखनऊबाट फर्किँदा रुपैडिहासम्म यातायातका साधन सहजरूपमा नपाउने र रुपैडिहाबाट फेरि अर्को सवारीसाधन चढेर नेपालगञ्ज आउनुपर्ने बाध्यता छ । (रासस)

प्रकाशित समय ०९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु