गृहपृष्ठ पहाडी भू-भागमा पहिरो जान सक्ने

पहाडी भू-भागमा पहिरो जान सक्ने

व्यापक वर्षाको सम्भावना कम हुँदै गए पनि कतिपय स्थानमा झरी पर्दा पहाडी भूभागमा पहिरो जान सक्ने हुँदा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सजग रहन आग्रह गरेको छ ।

महाशाखाले बुधबार बिहान ६:०० बजे जनाएअनुसार मनसुनी न्यून चापीय रेखाको पूर्वी भाग औसत स्थानभन्दा केही माथि (नेपाल नजिक) रहेको छ र अन्य स्थानमा आसपासमा  अवस्थित छ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको छ ।

हिजोआज देशभरि सामान्यदेखि पूर्ण बदली भई देशका पूर्वी, मध्य तथा पश्चिमी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार दिउँसो देशभरि सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पूर्व र मध्य भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभरि सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वदेखि पश्चिमसम्मकै केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षा साथै थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकाले नदीमा आकस्मिक पानीको बहाव बढ्न सक्ने, पहाडी भू-भागमा पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित समय १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु