गृहपृष्ठ पर्यटनमन्त्री योगेश भट्टराईमाथि विमानस्थलमा गालीगलौज

पर्यटनमन्त्री योगेश भट्टराईमाथि विमानस्थलमा गालीगलौज

ज्ञानेन्द्र शाही भन्छन्- मन्त्रीको रामधुलाइ गरियो

yogesh-bhattarai-newskarobar

नेपालगन्जबाट काठमाडौं आउने क्रममा विमानस्थलमा एक घण्टाभन्दा बढी जहाज कुराएको भन्दै यात्रुले पर्यटनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गरेका छन् । बुद्ध एयरको जहाजभित्र ज्ञानेन्द्र शाहीलगायतको युवा समूह मन्त्री भट्टराईमाथि शनिबार साँझ नियोजित रूपमा खनिएको हो ।

शाही र उनको टोलीले विमानभित्र मन्त्री भट्टराईलाई यसरी थर्काएका छन्-

तपाईंले हाम्रो प्लेन किन रोकेको ? एक घण्टासम्म प्लेन रोक्ने ? तपाईं कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि केमा हुनुहुन्थ्यो ? ख्याल राख्नुपर्दैन टाइमको ? संविधान तपाईंले बनाएको, संविधानको कुन सेक्सनमा लेख्या छ मन्त्रीले प्लेन रोक्ने भनेर ? कहिले प्रधानमन्त्री आउने प्लेन २ घण्टा जाम गर्दिने, यसको जवाफ दिनोस् । हामी रेक्सपेक्ट गर्छौं तर यो तरिका भएन मन्त्रीज्यू, बुद्धिमा अलिकति बिर्को आओस् । पञ्चायतमा यस्तो हुँदैनथ्यो । संस्कृतिमन्त्री हुनुहुन्छ, संस्कारै छैन । हामीले जवाफ माग्यौं, मन्त्रीज्यूले जवाफ दिनुभएन, हामी फेरि पनि सोसियल मिडियामार्फत जवाफ खोज्नेछौं तर हामी छोड्दैनौं ।’ यात्रुले मन्त्रीलाई गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मन्त्री भट्टराईले भने बुध्द एयरसँग आग्रह गरेर १५ मिनेटमात्रै ढिला भएको बताएका छन् । उनले टीकापुरमा आयोजना भएको कार्यक्रम सकेर फर्किने क्रममा विमानस्थलमा केही व्यक्ति आक्रामक शैलीमा आफू विरुद्ध प्रस्तुत भएको बताएका छन् ।

उनले फेसबुकमा भनेका छन्-

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफिन महोत्सवको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्कने मेरो योजना थियो । तर, कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगन्जको अन्तिम उडानबाट काठमाडौं फर्कने क्रममा केही ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेकाले काठमाडौं फर्कनैपर्ने दबाबमा म थिएँ । नेपालगन्ज विमानस्थलमा ३-४ जना व्यक्ति आक्रामक शैलीमा मेरा विरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौं र ! सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालेँ । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्छु । मेरा कारणले यात्रुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।

मन्त्रीलाई थर्काएपछि शाहीले फेसबुकमा स्टाटस लेखेका छन्-

मन्त्री योगेश भटराईलाई आज नेपालगन्ज एयरपोर्टमा रामधुलाई गरियो । मन्त्री योगेश भट्टराईले आज नेपालगन्ज एयरपोर्टमा एक घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यू मुसो लुकेजसरी लुक्नु भो । अब नागरिक सचेत भइसके । अरिङ्गालका दिनगन्ती सुरु ।

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाही राजावादी हुन् ।

प्रकाशित समय ०९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु