गृहपृष्ठ आमाको हत्यापछि छोराछोरीको बिचल्ली

आमाको हत्यापछि छोराछोरीको बिचल्ली

सांकेतिक तस्बिर

दिपायल सिलगढी नगरपालिका-३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् । मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

हत्या अभियोगमा कारागार चलान भएपछि अहिले कृष्णका चार छोराछोरी बिचल्लीमा परेका छन् । कृष्णकी आमा पार्वतीलाई अहिले आफ्ना नातिनातिनीहरूको साँझ बिहानको भोक मार्ने चिन्ताले गाँजेको छ । कृष्णका छोराछोरीको गत असारदेखि पढाइ पनि अलपत्र परेको छ । स्थानीयवासी भरत द्वारियाका अनुसार पार्वतीलाई बाथरोगले ग्रसित बनाएको छ । पावर्तीको घरमा खानलाई अन्नको दाना पनि छैन । काम गरी कमाएर कलिला नातिनातिनालाई पाल्न सक्ने ताकत उनमा छैन ।

रक्सीले मातेका बुवाले आँखै अगाडि आमाको बीभत्स हत्या गरेको देखेका कृष्णका छोराछोरी अहिले कसैसँग बोल्नसमेत डराउँछन् । आमाको हत्यापछि बिचल्लीमा परेका उनीहरुको पढाइको जिम्मा दिपायल नगर प्रमुख मञ्जु मलासीले लिने प्रतिबद्धता गरेको पार्वतीले बताइन् । उनले भनिन्, ‘नातिनातिनालाई पढाउँछु त भन्नुभएको हो तर पछि आउनुभएन के पो भयो ?’ तत्कालको समयमा नगरपालिका र वडा कार्यालयले किरिया खर्चबापत भनेर पार्वतीका परिवारलाई ३५ हजार रूपैयाँ राहत दिएको थियो । (रासस)

प्रकाशित समय १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु