गृहपृष्ठ यो दसैंमा पनि बढ्यो च्यांग्राको भाउ
यो दसैंमा पनि बढ्यो च्यांग्राको भाउ
यो दसैंमा पनि च्यांग्राको भाउ महँगिएको छ । रोज्जा च्यांग्राको मूल्य २९ हजार रुपैयाँ र मासु प्रतिकिलो १४ सय रुपैयाँ पुगेको व्यापारीले बताएका छन् । गत वर्ष एउटा च्यांग्राको मूल्य बढीमा २७ रुपैयाँ हजार थियो ।
खरिदमै मूल्य बढी परेको व्यापारी अम्मरबहादुर खत्रीले बताए । च्यांग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि च्यांग्रा महँगिँदै गएको छ । गत वर्षको तुलनामा यो वर्ष चार हजारले च्यांग्रा महँगिएको व्यपारीहरुले बताएका छन् । “अहिले खरिदमै एक हजारभन्दा मूल्य बढी पर्यो,’ व्यापारी खत्रीले भने, ‘आउँदा जाँदा बाटोमा उत्तिकै खर्च छ ।’ व्यापारीले एक साता लगाएर मुस्ताङदेखि च्यांग्रा ल्याउँछन् ।
स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा मर्का परेको च्यांग्रा व्यापारीको गुनासो छ । खत्रीसहित चार व्यापारी मुस्ताङको कागबेनी पुगेर १७५ च्यांग्रा बागलुङ भित्र्याएका छन् ।
मुस्ताङमै च्यांग्राको मूल्य २३ हजार रुपैयाँ परेको अर्का व्यापारी महेन्द्र केसीले बताए । दुई वर्षअघि सो मूल्यमा बागलुङमै च्यांग्रा आउँथ्यो । चार वर्षदेखि च्यांग्राको व्यापार गर्दै आएका केसीले यसपालि ७५ च्यांग्रा ल्याएका थिए ।
“महँगो परे पनि मासु पुर्यउनै सकिएको छैन, आइतबार तीनवटा काट्दा पनि पुगेन,’ व्यापारी केसीले भने । नवदुर्गा मासु पसलका सञ्चालकसमेत रहेका केसीले भने काटेको मासु १३ सय रुपैयाँमा बिक्री गर्दै आएका छन् । अघिल्लो वर्ष भने प्रतिकिलो १२ सय रुपैयाँ थियो ।
जिउँदो च्यांग्रा पनि अरु व्यापारीले भन्दा एक हजार कम मूल्यमै बेचेको उनको भनाइ छ । च्यांग्रा बिक्रीबाट पहिलेपहिले जस्तो नाफा निस्कन छाडेको व्यापारी बताउँछन् । एउटा च्यांग्रामा एक-दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् ।
खरिद र ढुवानी नै महँगो परेपछि महँगोमा बेच्न बाध्य भएको व्यापारीको भनाइ छ । तिब्बतबाट कम च्यांग्रा आउँदा पनि मूल्य बढ्ने गरेको छ । मुस्ताङमा मात्रै पालिने च्यांग्राले माग धान्न नसक्ने हुँदा ठूलो संख्यामा च्यांग्रा तिब्बतबाट भित्रने गर्छन् ।
महँगै परे पनि उपभोक्ताले दसैंमा च्यांग्राको मासु खोजीखोजी उपभोग गर्छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्यांग्राको मासु स्वादिष्ट मानिन्छ । बागलुङमा मात्रै दसैंका बेला बर्सेनि करिब दुई हजार च्यांग्रा भित्रने गरेको व्यापारी बताउँछन् ।
मुस्ताङबाट झारिने च्यांग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौँसम्म पुर्याइन्छ । यो वर्ष पनि झन्डै मुस्ताङसहित डोल्पा, हुम्ला, मुगुलगायत हिमाली जिल्लाबाट च्यांग्रा भित्रिएका छन् । (रामबहादुर थापा/रासस)
प्रकाशित समय १५:३३ बजे

















