गृहपृष्ठ २९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा ज्येष्ठहरू सम्मानित

२९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा ज्येष्ठहरू सम्मानित

बागलुङ नगरपालिकामा २९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा सम्मानित ज्येष्ठ नागरिकहरू । तस्बिर : रासस

पोखरा महानगरपालिकाले २९औँ ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरका ज्येष्ठ दुई नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा वडा नं ११ का ११० वर्षीय गौरी आचार्य र वडा नं ३३ का १०७ वर्षीय पदमबहादुर गुरुङ छन् ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जु गुरुङले १० हजार १२५ रुपैयाँ र दोसल्लाले सम्मान गरे । सम्मान कार्यक्रमा गुरुङ भने उपस्थित हुन सकेनन् । उनलाई पछि कार्यालयमा आएपछि सम्मान प्रदान गरिने जनाइएको छ ।

महानगरको नीति तथा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम राखिएको प्रमुख जिसीले बताए । महानगरले ज्येष्ठ नागरिकको लागि १० प्रतिशत भत्ता बढाएको र ज्येष्ठ नागरिकमैत्री वातावरणका लागि योजना बनाइएको उनले जानकारी दिए । जिसीले प्रत्येक वडामा ज्येष्ठ नागरिक क्लब बनाएर लैजाने महानगरको योजना भए पनि हाल खानेपानी बाटोघाटोको पूर्वाधार विकासमा जोड दिनुपरेको बताए ।

बागलुङ नगरपालिकाले पनि २९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ५ हजार नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर १४ वडाबाट एक महिला र एक पुरुष गरी २८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

यस्तै भद्रपुरमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर मंगलबार काँकडभिट्टामा दुई जनालाई नागरिक अभिनन्दन र १५ लाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिक मेचीनगर समितिले लिम्बु भाषाका ज्ञाता क्याप्टेन गोपीलाल लिम्बु र अधिकारकर्मी माया गुरुङलाई अभिनन्दन गरेको छ भने १५ वडाका एक-एक सामाजिक क्षेत्रका अगुवा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

यसैगरी नेपालगन्जमा ज्येष्ठ नागरिक दिवसका अवसरमा १० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । स्वावलम्बी ज्येष्ठ नागरिक सेवा केन्द्र समाज, नीलसागर सेवा आश्रम, भेरी वृद्धाश्रम र नेपालगन्ज उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रमा १० ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको थियो ।

वालिङमा पनि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा स्याङ्जाको भिरकोट नगरपालिकाले ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको छ । नगरपालिका र युवा चिकित्सक संघ नेपालको प्राविधिक सहयोगमा वडा नं ६ खिलुङ देउराली स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको नगरप्रमुख छायाराम खनालले बताए ।

निःशुल्क स्वास्थ्य शिविरमा पेट तथा छाती रोगसम्बन्धी ६२, हाड जोर्नी तथा नशा रोगसम्बन्धी ४६, दाँतसम्बन्धी १४, स्त्रीरोगसम्बन्धी १२, बालरोगसम्बन्धी सात गरी कुल १४१ ले स्वास्थ्य परीक्षण, परामर्श तथा निःशुल्क औषधि लिएका स्वास्थ्य परीक्षणमा सहभागी भएका चिकित्सक संघ नेपालका प्रतिनिधि डा. निकोलस भुसालले बताए । (रासस)

प्रकाशित समय ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु