गृहपृष्ठ बारामा मदिरा उत्पादन गर्ने ट्यांकीभित्र पाँच जनाको शव फेला
बारामा मदिरा उत्पादन गर्ने ट्यांकीभित्र पाँच जनाको शव फेला
बाराको फेटामा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । बुधबार बेलुका ८ बजेतिर बाराको फेटा गाउँपालिका ४ मा मदिरा उत्पादन गर्ने ट्यांकीभित्र ५ जनाको शव फेला परेको प्रहरी उपरीक्षक एसपी विकास खनालले जानकारी दिए ।
घरेलु मदिरा उत्पादन गर्ने ट्यांकीमा निसासिएर पाँचै जनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । अन्डरग्राउन्ड गरिएको सिमेन्टेड मदिरा ट्यांकीभित्र दुई भाग रहेको र खाली रहेको एक भागमा पाँचै जनाको शव भेटिएको एसपी खनालले बताए । प्रहरीले उनीहरूको शव ट्यांकी फुटाएर बाहिर निकालेको छ ।
घटनाबारे स्थानीय बासिन्दा पनि बेखबर छन् । घटनास्थल आसपास बुझ्दा कसैले पनि केही थाहा नपाएको बताएको उनले जानकारी दिए । मदिरा उत्पादनबारे कसैले पनि थाहा नपाओस् भनेर त्यस्तो ठाउँ बनाएको हुनसक्ने प्रहरीले जनाएको छ ।
मृतक सबैको सनाखत भइसकेको छ । मृतकहरूमा वर्ष ४० का जोगा मुखिया विन, उनकी श्रीमती वर्ष ३६ की लालमुनि देवी, छोरी वर्ष १२ की सुमिनी कुमारी, भाइ वर्ष ३६ का महेन्द्र मुखिया बिन र ससुरा ५५ वर्षीय (भारत बस्ने) बाबा नाम गरेका छन् । शब पोस्टमार्टमका लागि कलैया अस्पताल लगिएको एसपी खनालले जानकारी दिए । उनका अनुसार भदौ २३ गते पनि प्रहरीले जोगा मुखियाकै घरबाट ठूलो मात्रामा घरेलु मदिरा बरामद गरी नष्ट गरेको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०७:४१ बजे

















