गृहपृष्ठ धनुषाको मुजेलियामा आफ्नै साथीको गोली हानी हत्या
धनुषाको मुजेलियामा आफ्नै साथीको गोली हानी हत्या
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम १४ मुजेलियामा व्यवसायी मनोज साहको बुधबार बिहान गोली हानी हत्या गरिएको छ । जनकपुरधाम वडा नं. १ बस्ने ४१ वर्षीय साहलाई आफनै साथी जनकपुरधाम उपमहानरपालिका वडा नं. १२ कुवाँ रामपुर र वडा नं. १४ मुजेलियास्थित कबर्ड हलनजिक घर भएका ३५ वर्षीय पंकज चौधरीले गोली प्रहार गरेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
बुधबार बिहान करिब १० बजे मुजेलियामा मनोज साहको कोखामा चौधरीले गोली प्रहार गरेपछि गम्भीर घाइते साहको जनकपुरस्थित अञ्चल अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी कार्कीले बताए । साहको शव जनकपुर अञ्चल अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ ।
गोली प्रहार गर्ने पंकज चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनको मुजेलियास्थित कवर्ड हलनजिकको घरबाट हतियारसहित गिरफतार गरेको छ । साहलाई पेस्तोल एक थान र १९ राउन्ड गोलीसहित कटुवा पेस्तोलको ३ राउन्ड गोलीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार मृतक साह र चौधरी दुवै जना ठेकेदार हुन् । साहको सपहीमा शिव आयल पेट्रोल पम्प छ ।
प्रकाशित समय १२:२७ बजे

















