गृहपृष्ठ मेची राजमार्ग : वैकल्पिक मार्ग नखोज्दा खर्चमाथि खर्च

मेची राजमार्ग : वैकल्पिक मार्ग नखोज्दा खर्चमाथि खर्च

मेची राजमार्गको इलामस्थित माइखोला नजिकैको सडकमा जति रकम खर्च गरे पनि बालुवामा पानी खन्याए सरह भएको छ ।

सो स्थानमा करोडौँ रकम खर्च गरिए पनि सडक भासिने क्रम रोकिएको छैन । वैकल्पिक सडक निर्माण गर्न पनि कसैको ध्यान पुगेको छैन । मेची राजमार्गको इलाम माइखोला खण्डको सडक भासिने क्रम नरोकिएको हो । राजमार्गको ठाउँ ठाउँमा सडक भासिएपछि वर्षौदेखि यात्रा कष्टकर बन्दै गएको छ । डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१/७२ सालमा नै भासिएको सडक मर्मतका लागि ६ करोडमा ठेक्का लगाएको थियो । बल्लतल्ल सकिएको निर्माण पनि भत्किएर पुनः सडक भासिन थालेको छ ।

निर्माण व्यवसायी स्वच्छन्द सफल जेभीले पाँच वर्ष लगाएर एन्करिङ विधिबाट सडक मर्मत गरेको थियो । तर पनि सडक निर्माणको काम सकिएलगत्तै समस्या उस्तै भएको छ । धेरैले यस सडकको विकल्प खोज्न सम्बन्धित निकायसँग माग गरिरहेका छन् । स्थानीय मोहन घिमिरेले भने, ‘काम गुणस्तरीय नभएर हो की वा ठाउँनै उस्तो हो ? जति पटक बनाए पनि फेरी भासिन्छ ।

यो सडकको समस्या कहिल्यै समाधान नहुने भयो ।’ डिभिजन सडक कार्यालयले पुन मर्मतका लागि ठेक्का बन्दोबस्तीको तयारी गरेको छ । राजमार्गको माइखोला र चुरेघाँटी खण्डको भासिएको १२ किलोमिटर सडकखण्ड पुन निर्माणका लागि पाँच करोड खर्च हुने अनुमान गरिएको डिभिजन सडक कार्यालय इलामका इन्जीनियर धु्रव झाले जानकारी दिए ।

प्रकाशित समय ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु