गृहपृष्ठ रानीपोखरीमा भाइटीका (फोटो फिचर)
रानीपोखरीमा भाइटीका (फोटो फिचर)
भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा यो वर्ष पनि दिदीबहिनी नहुनेहरु भाइटीका लगाउन पुगेका छन् । दिदीबहिनी नहुनेहरु यस मन्दिरमा पुगेर भाइटीका लगाउने गर्छन् । २०७२ सालको भूकम्पपछि रानीपोखरी र बालगोपालेश्वर मन्दिरको जीर्णोद्वार भइरहेकाले टीका लगाउनेहरूको पहिलेजस्तो घुइँचो भने छैन ।
मन्दिरमा सुरक्षार्थ बसेकी काठमाडौं महानगरपालिकाकी नगर प्रहरी हवल्दार सुनिता घतानीले बिहानैदेखि यस्तै फाट्टफुट्ट मात्र टीका लगाउनेहरू आएको बताइन् । ‘खासै घुइँचो छैन, बिहानैदेखि यस्तै यस्तै छ,’ उनले भनिन् । रानीपोखरीको पुनर्निर्माणले भने अहिले गति लिएको उनको भनाइ छ । ‘अहिले धमाधम काम भइरहेको छ,’ रानीपोखरीभित्रै रहेको डोजरतिर औंल्याउँदै उनले भनिन्, ‘अब चाँडै बन्ला ।’
भूकम्पमा भत्किनुअघि रानीपोखरीमा भाइटीका लगाउनेको ठूलो घुइँचो हुन्थ्यो । टीका लगाइदिने दिदीबहिनी पनि धेरै हुन्थे । यसपटक तीन जना दिदीबहिनीले मात्र टीका लगाइदिइरहेका छन् । मन्दिरको पश्चिम ढोकानजिकै बालगोपालेश्वरको मूर्ति राखिएको छ भने नजिकै टीका लगाइदिने ठाउँ बनाइएको छ । आज साँझ साढे ७ बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
प्रकाशित समय १२:११ बजे






























