गृहपृष्ठ हरिशयनी : नदी तथा जलाशयमा भक्तजनको भीड
हरिशयनी : नदी तथा जलाशयमा भक्तजनको भीड
हरिबोधनी एकादशीको दिन शुक्रबार तनहुँको मादीसेती नदी संगमस्थलमा स्नान गर्दै भक्तजन । तस्बीर : रासस
हरिबोधिनी एकादशीका अवसरमा आज पोखरा र आसपासका नदी तथा जलाशय किनारमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
प्रत्येक वर्षको कात्तिक शुक्ल एकादशीका दिन आषाढ शुक्ल एकादशीदेखि क्षीर सागरमा सुतेका भगवान् विष्णु उठ्ने विश्वासका आधारमा आजको दिनलाई हरिबोधिनी एकादशीका रूपमा लिने गरिएको हो ।
आजको दिन नदी तथा जलाशयमा गई स्नान गरी भगवान् विष्णुको आराधना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । सोही विश्वासका कारण सेती नदी किनारका चिरगादी घाट, रामघाट, नारायणस्थान, लामगादी, दुलैगौंडा पुलचोकलगायतस्थानमा भक्तजनको भीड लाग्ने गरेको स्थानीयवासी गुरुप्रसाद पौडेलले जानकारी दिए ।
धार्मिक धर्मग्रन्थहरूमा हरिबोधिनी एकादशीलाई वर्षमा पर्ने चौबीस वटा एकादशीमध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण एकादशीका रूपमा लिइएको उनले बताए ।
आषाढ शुक्ल एकादशीका दिनदेखि सुरु भएको चतुर्मास व्रत आजबाट समाप्त हुन्छ । चतुर्मास व्रत बस्नेले आज फूलको लठ्ठासहितको डोली बोकेर नदी किनारमा पुगी फूल तार्ने गर्छन् ।
आजको दिन नदी तथा जलाशयमा पुगी गरिने स्नान, दान र तपस्यालाई महत्वका साथ लिने गरिन्छ । आजैका दिन बहुउपयोगी वनस्पति तुलसीको विवाह गर्ने प्रचलन छ । रामघाट, लागादीलगायत स्थानमा आज एकादशी मेला लाग्ने भएकाले ती स्थानमा सुन्तला, बदाम, सक्खरखण्डका साथै चोयाका समानको व्यापार पनि हुने गरेको छ । (रासस)
प्रकाशित समय १०:३१ बजे

















