गृहपृष्ठ विराटनगरमा छोरी बचाउ अभियान प्रभावकारी बन्दै
विराटनगरमा छोरी बचाउ अभियान प्रभावकारी बन्दै
विराटनगर महानगरपालिकाले विसं २०७५ मा ल्याएको छोरी बचाउ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ । छोरी बोझ होइन, छोरीलाई सम्मान गर्नुपर्छ र समयअनुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्ने धारणाको विकास हुनु नै कार्यक्रमको सफलता भएको विराटनगर महानगरपालिकाको ठहर छ ।
चालु आर्थिक वर्षबाट सुरु भएपछि लाभान्वित वर्ग खुसी हुँदै गएको महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले बताइन् । विराटनगर महानगरपालिकाले महानगरभित्र बालबालिकाको हितको संरक्षण, सरसफाइ, लैंगिक समानता, हिंसा, गरिबी, सीमान्त महिलाको छोरीको गर्भपतनको न्यूनीकरण, छोरीलाई प्रोत्साहन गर्नका लागि महानगरपालिकामा छोरी बचाउ अभियान कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
यसका लागि महानगरपालिकाले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हालसम्म ६७ जनाले यो सुविधा लिएका छन् । सेवा लिनलाई स्वास्थ्य संस्था वा अस्पतालमा सन्तान जन्मिएको हुनुपर्ने, ३५ दिनभित्र जन्म दर्ता गरेको, वडा कार्यालयको सिफारिस अनिवार्य लिएको, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ताको प्रतिलिपि र दोस्रो सन्तानको हकमा दुवै छोरीको जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रहेको उपप्रमुख कार्कीले जानकारी दिइन् । यो छोरी बचाउ अभियान आउने दिनहरूमा अझै प्रभावकारी बन्ने बताउँदै यसले समाजमा सकारात्मक प्रभाव पारेको धारणा व्यक्त गरिन् । (रासस)
प्रकाशित समय १४:२७ बजे

















