गृहपृष्ठ भद्रपुर विमानस्थल पुनः सञ्चालन
भद्रपुर विमानस्थल पुनः सञ्चालन
झापाको भद्रपुर विमानस्थल १० दिनपछि पुनः आजदेखि सञ्चालनमा आएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको जनाएको हो ।
गत कात्तिक २६ गतेदेखि मंसिर ५ गतेसम्म मर्मत तथा स्तरोन्नतिका लागि विमानस्थल बन्द गरिएको थियो । विमानस्थलको १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले बताए । उनका अनुसार उक्त धावनमार्गमा २० वर्षसम्म समस्या आउने छैन ।
उनले धावनमार्गको मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँ खर्च भएको बताए । विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग विस्तार, भवनको स्तरोन्नतिलगायतका काम गरिएको हो । (रासस)
प्रकाशित समय १४:३३ बजे

















