गृहपृष्ठ पृथ्वीनारायण संग्रहालय निर्माण सुरु
पृथ्वीनारायण संग्रहालय निर्माण सुरु
नुवाकोटको विदुर नगरपालिका-२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह संग्रहालय’ निर्माण थालिएको छ । विशाल नेपालको एकीकरणको सुरुआत नुवाकोटबाट गरेका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरूप संग्रहालय निर्माण सुरु गरिएको वडा २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिए ।
उनका अनुसार सात रोपनी जग्गामा ५ करोड २८ लाख लगानीमा निर्माण थालिएको संग्रहालय दुई वर्षभित्र पूरा गर्न निर्माणको जिम्मेवारी शृंखला निर्माण सेवा बट्टारलाई दिइएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन एकाइ धादिङमार्फत ठेक्का लगाएर निर्माण थालिएको संग्रहालय चारते हुनेछ, जसमा नुवाकोट, रसुवा र धादिङमा रहेका नौ कोटसँग सम्बन्धित सबै विषयवस्तुलाई उतारेर प्रदर्शनीमा राखिने छ ।
भवन विभागमार्फत काम थालिएको र पुरातत्व विभागसँग सम्बन्धित नभए पनि काम सम्पन्न भएपछि समन्वय गरेर नुवाकोटसहित मुलुकभरमा रहेका शाहसँग जोडिएका र उनले प्रयोग गरेका तोप र हातहतियार, उनले दिएको दिव्योपदेशलगायतलाई संग्रहालयमा प्रदर्शनीका लागि राखिने बताइएको छ । (रासस)
प्रकाशित समय ११:४१ बजे

















