गृहपृष्ठ जवा नदीबाट बिजुली उत्पादन, लाम्रीगाउँ झिलिमिली
जवा नदीबाट बिजुली उत्पादन, लाम्रीगाउँ झिलिमिली
जुम्लाको पातारासी गाउँपालिका-४ लाम्रीगाउँमा बिजुली बल्न थालेको छ । स्थानीय जवा नदीमा साना जलविद्युत् आयोजना निर्माण भएपछि बिजुली बल्न थालेको हो । बिजुली र सिँचाइको व्यवस्था हुने गरी आयोजना निर्माण गरिएको छ । यसबाट ५८ किलोवाट विद्युत् उत्पादन भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताए । ‘एउटै नहरबाट बिजुली पनि बलेको छ, सिँचाइ पनि हुन्छ,’ अध्यक्ष बुढाले भने ।
आयोजना आर्थिक वर्ष २०७१/७२ देखि निर्माण सुरु भएको थियो । साढे दुई वर्षमा सक्ने लक्ष्य राखिए पनि बजेट अभावले ढिलाइ भएको अध्यक्ष बुढाले बताए । आयोजना कात्तिकमा निर्माण सम्पन्न भएको हो । आयोजनामा ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । उपभोक्ता समितिले बजेट जुटाउनुपरेकाले ढिलाइ भएको जनाएको छ । ‘उपभोक्ता समितिले बजेट जुटाउँदै काम गरेको छ,’ अध्यक्ष बुढाले भने ।
तत्कालीन डिल्लीचौर गाउँ विकास समितिको कर्णाली रोजगार कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँमा काम सुरु गरिएको थियो । त्यसपछि सांसद विकास कोषको ३० लाख रुपैयाँ, सूर्य सामाजिक सेवा संघको २० लाख रुपैयाँ र पातारासी गाउँपालिकाको ७५ लाख रुपैयाँ लागेको छ । आयोजनाबाट तिर्खु, लाम्री, डिल्लीचौर र जम्नगाउँमा बिजुली आपूर्ति हुनेछ । चारै गाउँका करिब ५ सय परिवार लाभान्वित हुनेछन् ।
पाँच हजार रोपनीमा सिँचाइ
विद्युतसँगै आयोजनाबाट सिँचाइ पनि हुने भएको छ । यसबाट पाँच हजार रोपनीमा सिँचाइ हुने उपभोक्ता समितिले जनाएको छ । सिँचाइ पनि हुने भएकाले तरकारी खेती गर्न सजिलो भएको स्थानीयवासी वीरबहादुर बोहराले बताए । ‘तरकारी उत्पादन गरेर स्थानीय बजारमा बिक्री गर्न सजिलो हुनेछ,’ उनले भने । स्थानीय बासिन्दाले मार्सी धान रोप्ने गरे पनि सिँचाइको सुविधा नहुँदा रोग लाग्ने र लगानीअनुसार उत्पादन हुँदैनथ्यो । अब खेतीपाती गर्न सजिलो हुने स्थानीय बासिन्दाको विश्वास छ । (रासस)
प्रकाशित समय ११:३४ बजे

















