गृहपृष्ठ ‘पुनर्जीवन’ पाउँदै ऐतिहासिक भीमफेदी
‘पुनर्जीवन’ पाउँदै ऐतिहासिक भीमफेदी
त्रिभुवन राजपथ निर्माण हुनुभन्दा अघि उपत्यकाको एक मात्र प्रवेशद्वार भीमफेदीको चहलपहल थामिनसक्नु थियो । भीमफेदी तराईमा सिकार खेल्न जाने होस् वा तराईबाट राजधानी आउजाउ गर्ने पैदल यात्रुहरूको बासस्थान थियो ।
मकवानपुरको वर्तमान सदरमुकाम हेटौँडाबाट २७ किलो मिटर उत्तरपट्टि रहेको भीमफेदी मध्यकालीन नेपालको इतिहासमा निकै नै चर्चित रहेको थियो । जिल्लाको पूर्व सदरमुकामका रूपमा रहेका भीमफेदी ३७ वर्ष अघिसम्म अत्यन्त व्यस्त र चहलपहल भएको ठूलो व्यापारिक केन्द्रको रूपमा रहेको थियो ।
विसं २०३९ मा तत्कालीन जिल्ला सभापति ओमुटेम्पु ल्हामाले मकवानपुरको सदरमुकाम भीमफेदीबाट सारेर हेटौँडामा पुर्याएपछि भने चहलपहलयुक्त भीमफेदी एकाएक उजाड बन्दै गयो । यहाँका अधिकांश कार्यालय हेटौँडा सरेपछि व्यापार व्यवसायसमेत हटौँडातिरै सर्न पुग्यो । तामाङ जातिको बाहुल्य रहेको मकवानपुरको देउराली, कोगटे तथा सुपिङको बीचमा रहेको भीमफेदी बजार भने नेवारी व्यापारी बाहुल्य बजार थियो । भीमफेदी नेवार भएकै कारण विभिन्न जात्रा, महोत्सव, झाँकी, नाचलगायत विभिन्न सांस्कृतिक कार्यक्रम एवं पर्व विशेषका जात्रा र कार्यक्रमले गर्दा सांस्कृतिक रूपमा पनि समृद्ध थियो ।
राणाकालमा बेलायती राजारानीलगायत विदेशी पाहुना हात्तीमा बसेर सिकार खेल्नका निम्ति पनि भीमफेदी नै आउँथे । विगतमा पैदल यात्रुहरूका निम्ति बास बस्न बनाइएका पार्टीपौवा र निजी भवनहरू अहिले जीर्ण अवस्थामा पुगेका छन् ।
मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी हात्तीसारस्थित हौदा संग्रहालयमा रहेका हौदालगायत विभिन्न ऐतिहासिक सामग्री संरक्षणको पर्खाइमा छन् । संग्रहालयमा सन् १९५२ मा बेलायती महारानी एलिजाबेथ र जंगबहादुर राणालगायत राणा परिवारले प्रयोग गरेका हौदाहरू छन् । राजा महेन्द्रको निमन्त्रणामा नेपाल आएकी महारानी एलिजाबेथ द्वितीयले अहिले संग्रहालयमा रहेका सिकारी हौदा कसिएका हात्ती चढेर हालको चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ, गैंडालगायत वन्यजन्तुको सिकार गरेका थिए । ‘संग्रहालयमा महारानी एलिजाबेथले प्रयोग गरेका ४ वटा सिकारी हौदा र जंगबहादुरले प्रयोग गरेका पिँजडा हौदा छन् ।’
त्यस्तै ऐतिहासिक चिसापानी गढी, राजा महाराजा एवं राणाले निर्माण गरेका भौतिक संरचना, विसं १९६४ मा निर्मित अनौठो र आकर्षक पृथ्वी-चन्द्र अस्पताल भवन, राणा प्रधानमन्त्री जुद्ध शमशेरले निर्माण गराएको विशाल धर्मशाला (हाल भत्काइएको र महेन्द्र माविको आधुनिक भवन बनाइएको), पौराणिक कालीगढी नमुना झल्कने भीमसेन महाराजको मूर्ति भएको भीमसेन मन्दिर, ढुंगेधारासहितको आकर्षक पोखरी र मनोरम बगैँचाजस्ता थुप्रै ऐतिहासिक संरचनाले झकिझकाउ भीमफेदी, सदरमुकाम सरेपछि निरस र उजाड मात्र बनेन, यहाँका सांस्कृतिक परम्परा भीमसेन जात्रा र अन्य केही सानातिना जात्राबाहेक लगभग सम्पूर्ण लोप हुने अवस्थामा पुगेका छन् ।
चहलपहल कम भएपछि धेरै स्थानीयवासीसमेत काठमाडौँ र हेटौँडातिर बसाइँ सरे । भीमफेदीको चिसापानी गढी देशकै सबैभन्दा चल्तीको नाका थियो । हाल ललितपुरको भुसेल, माल्टा, आस्राङ, साहुमारादेखि धादिङ र काभ्रेको केही भागसमेत र पूरै चितवन र मकवानपुर जिल्ला मिलेर बनेको चिसापानीगढी जिल्लाको केन्द्र यही गढी भएको इतिहास पाइन्छ । विसं २०१३ तिर त्रिभुवन राजपथ सञ्चालन हुनु अघिसम्म दक्षिणी भगलाई काठमाडौँसँग जोड्ने एक मात्र नाकाका रूपमा थियो भीमफेदी । नेपाल अंग्रेज युद्धताका मजबुत किल्ला भएकै कारण चिसापानीमा हार खाएको अंग्रेज फौजले काठमाडौँ प्रवेश गर्न सिमभन्ज्याङतर्फको बाटो राज्नुपरेको इतिहासका खोजकर्ता केदार न्यौपाने बताउँछन् ।
लेखक तथा राजनीतिकर्मी मेम्मर लोकाअनुसार हालको सदरमुकाम हेटौँडा आवाद हुनुभन्दा धेरै अगाडि भीमफेदी बजार सहरका रूपमा स्थापित भइसकेको थियो । जहाँबाट काठमाडौँ उपत्यकालाई आवश्यक पर्ने हरेक उपभोग्य वस्तु आयात गरिन्थ्यो । यहाँसम्म कि श्री ३ राणा महाराजहरूले उपत्यकामा भित्र्याउने सवारी साधन, मोटर गाडीसमेत भीमफेदीबाट बोकेर उपत्यका पुर्याइन्थ्यो । ती गाडी बोक्नेदेखि अन्य उपभोग्य सामग्री उपत्यका पुर्याउने काममा स्थानीय तामाङ मजदुरलाई प्रयोग गर्ने चलन रहेको उनको भनाइ छ । राणाकालमा राजधानीमा निमार्ण हुने विभिन्न युरोपियन आकारका दरबारमा प्रयोग हुने उन्नत जातका काठ आपूर्ति गर्न मकवानपुरका घना जंगलमा रुख काट्ने काममा भीमफेदीका स्थानीय तामाङ मजदुरलाई लगाउने गरेको बताइन्छ ।
सदरमुकाम सरेपछि निराशझैँ बनेको भीमफेदी अहिले विभिन्न हिसाबले चर्चामा आउन थालेको छ । कृषि उत्पादन, पर्यटन, कला आदिमा फड्को मार्दै गरेको भीमफेदीले अब भने पुनर्जीवन पाउन थालेको आभास हुन्छ । स्थानीय तहको निर्वाचन पछि विगतमा बसाइ सरेर गएकाको पुनः आगमन हुन थालेको, यहीको मार्ग हुँदै दैनिक हजारौँ साना गाडी काठमाडौँ हेटौँडा गर्न थालेकाले होटल व्यवसायले राम्रो व्यापार गर्न थालेको स्थानीय युवा तथा नयाँ पाइला नेपालका अध्यक्ष विश्व सुनार बताउँछन् ।
साविक भीमफेदी गाविसका पूर्वउपाध्यक्ष तथा भीमफेदी गाउँपालिका-५ का वडाध्यक्ष जाहरसिंह लामाले भीमफेदीले अब चाँडै नै फड्को मार्ने बताउँछन् । ऐतिहासिक पर्यटकीयस्थलको प्रवर्द्धन र प्रचारप्रसार गर्न सके भीमफेदीले फाइदा लिन सक्ने उनको भनाइ छ । ऐतिहासिकताका हिसाबमा भीफफेदी विशाल रहेकाले हरेक नेपालीले यसबारे जानकारी लिनुपर्ने गाउँपालिकाका उपाध्यक्ष पार्वती राना बताउँछिन् । भर्भराउँदा पनि र निभ्दा पनि ज्योति दिने भीमफेदी कला र संस्कृतिले पनि भरिपूर्ण रहेको र विस्तारै विकसित बन्दै गएको उनको भनाइ छ ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा गाउँपालिकाले ऐतिहासिक भीमफेदी बजारको ऐतिहासिकता, धार्मिक तथा पर्यटकीय महत्वको प्रवर्द्धन हुने गरी विशेष योजना ल्याउन लागेको बताउँछन् । भीमफेदीका कतिपय सम्पदा केन्द्र सरकारको मातहत रहेको र कतिपय पुरातत्व विभागको क्षेत्राधिकारमा रहेकाले आवश्यक समन्वय गरेर मात्र काम गर्नुपर्ने बाध्यता रहे पनि कुनै पनि सर्तमा यहाँको एतिहासिकता र महत्वपूर्ण निधिको प्रचारप्रसार गरेर भीमफेदीको समृद्धिका लागि काम गरिने उनको भनाइ छ ।
राजधानी प्रवेश गर्ने छोटो वैकल्पिक हेटौंडा भीमफेदी, कुलेखानी, सिस्नेरी, फाखेल दक्षिणकाली र फर्पिङ बाटोमा मोटर सञ्चालनमा आउन थालेपछि भीमफेदीमा चहलपहल बढ्न थालेको छ । गाउँपालिकाका जनप्रतिनिधिहरूले पनि भीमफेदीलाई ‘कमब्याक’ गराउन प्रयत्न गरेका छन् । जिल्लाको पूर्वसदरमुकामका रूपमा रहेका भीमफेदी अहिले भीमफेदी गाउँपालिकाको केन्द्र हो । (रिपेश दाहाल/रासस)
प्रकाशित समय १२:२८ बजे

















