गृहपृष्ठ जुम्ला कालेखोलीका आगलागीपीडितलाई राहत

जुम्ला कालेखोलीका आगलागीपीडितलाई राहत

जुम्लाको चन्दननाथ नगरपालिका-२ कालेखोलीमा आगलागीबाट पीडित भएका परिवारलाई चन्दननाथ नगरपालिकाले राहत उपलब्ध गराएको छ । आइतबार ग्यास लिक हुँदा घरमा आगो लागेपछि २४ कोठे घर जलेर नष्ट भएको थियो । नगरपालिकाले घरधनीलाई ६० हजार रुपैयाँ र घरभाडामा बसेका १६ परिवारलाई १०/१० हजार रुपैयाँ राहत रकम उपलब्ध गराएको हो ।

आगलागीबाट सबै सामान नष्ट भएकाले तत्कालीन आवश्यकता पूर्तिका लागि नगरपालिकाले थोरै भए पनि राहत रकम उपलब्ध गराएको उपप्रमुख अप्सरादेवी न्यौपानेले जानकारी दिइन् । साँघुरो सडकका कारण दमकल समयमै लैजान नसक्दा आगो नियन्त्रणमा लिन सकिएको थिएन ।

‘यो रकम पर्याप्त होइन,’ उपप्रमुख न्यौपाने भनिन्, ‘तत्काल खाने, कपडा, भाँडाकुँडा खरिदको लागि मात्र यो रकम दिइएको हो ।’ उनका अनुसार कुनै पनि घरमा दमकल छिर्न सक्ने बाटो हुनुपर्ने, नक्सापास गरेर मात्र घर निर्माण गर्नुपर्ने, आगलागी नियन्त्रणका सामग्री हरेक घरमा राख्नुपर्नेलगायत नीतिगत प्रावधान अघि बढाउनुपर्ने देखिएको छ ।

गत कात्तिक २३ गते चन्दननाथ नगरपालिका-५ का नवराज श्रेष्ठको घरमा आगलागी भएको थियो । भदौ १६ मा चन्दननाथ नगरपालिका-१ का जयबहादुर रावतको घरमा आगलागी भएको थियो । दुवै घरमा आगलागी हुने बित्तिकै दमकललाई खबर गरे पनि निभाउन सकिएको थिएन । बाटो नभएकाले दमकल लैजान सकिने अवस्था नरहेको उपप्रमुख न्यौपानेको भनाइ छ । नवराज श्रेष्ठको घरमा आगलागी हुँदा ६० लाख ७९ हजार रुपैयाँ र जयबहादुरको घरमा आगलागी हुँदा ७३ लाख रुपैयाँको क्षति भएको थियो ।

पछिल्लो समयमा जुम्लामा आगलागीका घटना बढिरहेको उल्लेख गर्दै प्रमुख कान्तिका सेजुवालले दमकल, डोजर र नगरपालिकाभित्र रहेका सामान सबै तयारी हालतमा राखिएको बताइन् । उनले आगो नियन्त्रणका सामग्री खरिद गर्ने र दक्ष जनशक्ति राखिने बताइन् । (रासस)

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु