गृहपृष्ठ पर्यटन प्रवर्द्धन गर्न देवघाटमा घरवास
पर्यटन प्रवर्द्धन गर्न देवघाटमा घरवास
घर सिँगारेर पर्यटकलाई बास दिन देवघाटमा घरवास (होमस्टे) सञ्चालनमा आएका छन् । पवित्र तीर्थस्थल देवघाटमा बास बस्नका लागि होटल नभएका कारण देवघाट गाउँपालिकाले समेत होमस्टेलाई प्रवर्द्धन गर्न सुरु गरेको छ ।
नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत हिन्दु धर्मावलम्बी देवघाट घुम्न आउने र साँझमा बास बस्नका लागि नारायणगढ तथा गैँडाकोट जानुपर्ने बाध्यताको अन्त्य गर्न लागि देवघाटमा होमस्टे सञ्चालनलाई प्राथमिकता दिएको देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा मगरले बताए । गाउँपालिकाले होमस्टे प्रवर्द्धन गर्न ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । होमस्टेका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको भए पनि पर्यटकीय गतिविधि सञ्चालनका लागि गाउँपालिकाले थप बजेट विनियोजन गरेको उनले बताए ।
‘छरछरे झरना, क्यानेनिङलगायतका पर्यटन गतिविधिका लागि ५ लाख रुपैयाँ, खाल्टेमा बाल उद्यान तथा पार्क बनाउन ५ लाख रुपैयाँ, रंगशाला बनाउन ३-४ लाख रुपैयाँ, घट्टीचुलीमा दृश्यावलोकन केन्द्र बनाउन १० लाख रुपैयाँ, कर्तापमा जनजाति संग्रहालय बनाउन २ लाख रुपैयाँ, देउपुरमा पार्क बनाउन ५ लाख रुपैयाँ बजेट छुट्याएका छौँ,’ अध्यक्ष थापाले भने, ‘यो वर्ष पर्यटनका लागि मात्रै ४० लाख रुपैयाँ बजेट छ ।’ होमस्टे सञ्चालन गर्न मिल्ने ठाउँमा संरचना निर्माण गरिदिएपछि स्थानीयसमेत उत्साही भएर आफ्नै घरमा होमस्टे सञ्चालन गर्दै छन् ।
देवघाट-५ देउपुरकी आशा गुरुङले आफ्नो घरको चार वटा कोठा पर्यटकका लागि बनाएकी छन् । ‘अन्यत्र होमस्टे राम्रो चलेको देख्यौँ, पर्यटकलाई राम्रो बास पनि मिल्ने, आम्दानी पनि हुने भएरै लगानी गरेको हो,’ उनले भने, ‘सुरुआती चरणमै छौँ, बिस्तारै पाहुना पनि थपिँदै हुनुहुन्छ ।’ कालीगण्डकी नदीको किनारमा नै गुरुङको होमस्टे रहेको छ । उनले ८ लाख ८० हजार रुपैयाँमा होमस्टे सञ्चालन गरिन् ।
होमस्टे भएको घरमा गुरुङले पसल पनि चलाएकी छन् । होमस्टेमा बस्न आउने पर्यटकले प्रतिकोठा ५ सय रुपैयाँ तिर्नुपर्छ । देवघाटमा गुरुङ, मगरलगायत जनजातिका होमस्टे छन् । उनीहरुले होमस्टेमा पुग्ने पर्यटकलाई ढिँडो, अर्गानिक तरकारी, स्थानीय खोलाको माछा, कुखुरा र हाँसका परिकारले स्वागत गर्दछन् ।
भक्तपुरबाट साथीसहित देवघाट घुम्न आउनुभएकी विद्या काफ्लेले सहरको कोलाहालबाट टाढा एकान्तमा बस्न पाउँदा खुसी लागेको बताए । ‘देवघाटमा रहेको होमस्टेले हामीलाई प्राकृतिक आनन्द प्रदान गरेको छ,’ काफ्लेले भने, ‘होटलको भन्दा सस्तो पैसामा स्थानीय अर्गानिक खाने कुरा खाँदै यहाँको प्राकृतिक सुन्दरतामा रम्ने अवसर मिल्यो ।’ पाँच वटा वडा रहेको देवघाटमा चार वटा वडामा होमस्टे सञ्चालन भएको छ ।
देवघाट गाउँपालिकाका अध्यक्ष थापाका अनुसार गाउँपालिकाभित्र होमस्टेका लागि ९५ कोठा तयार भएका छन् । वडा नम्बर १ को गोपीटारमा १३, २ को खाल्टेमा २५, कोटबैदीमा १४, करादिपमा १६, ४ को काफलडाँडामा १० तथा वडा नम्बर ५ को देवपुरमा १७ कोठा स्थानीयले पाहुनालाई स्वागत गर्न सजाएका छन् । ‘वडा नम्बर १ को गोपीटार र वडा नम्बर २ को करादीपमा पर्यटक चहलपहल बढी छ,’ थापाले भने, ‘गाउँपालिकाको अन्य भागमा निर्माण भएका होमस्टे सुरुवाती चरणमा छन् ।’
शालिग्राम करिडोर नजिकै चार तथा मोटरबाटो नजिकै २ क्षेत्रमा होमस्टे चलेका उल्लेख गर्दै अध्यक्ष थापाले पर्यटकलाई आरामदायी बासको व्यवस्था गरिएको बताए । गाउँपालिकाका क्षेत्रलाई धार्मिक र सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागेको थापाले बताए । ‘देवघाटधाम पवित्र तीर्थस्थलका रूपमा चिनिएको छ, जनजातिको बसोबास पनि छ,’ उनले भने, ‘पाँच वटै वडालाई समेटेर एकीकृत पर्यटन विकासको काम भइरहेको छ ।’
शालिग्राम करिडोरमा करिब ५ करोड रुपैयाँ खर्चेर ट्रयाक खोलिएको उनले बताए । देवघाट गाउँपालिका १५९ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । जनसंख्या भने १६ हजार १३१ मात्रै छ । भूभाग ठूलो र जनसंख्या थोरै भए पनि यहाँ पर्यटन प्रवर्द्धन गर्नका लागि थुप्रै प्राकृतिक सम्पदा रहेको सामुदायिक वन महासंघ गण्डकी प्रदेश सदस्य केशवचन्द्र न्यौपानेले बताए । सरकारले अगाडि सारेको नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकलाई देवघाटमा आकर्षित गर्दै यहाँ रात बिताउन होमस्टेले सहयोग पुर्याउने उनले बताए । देवघाट गाउँपालिकामा तराईको समथर भाग र विकट पहाडी भाग भएकाले सबै खालका पर्यटकलाई आकर्षित गर्ने क्षमता भएको न्यौपानेले बताए । (रासस)
प्रकाशित समय १५:०५ बजे

















