गृहपृष्ठ बूढीगंगाका गाउँमा विशषेज्ञ सेवा

बूढीगंगाका गाउँमा विशषेज्ञ सेवा

बाजुरा जिल्लाको बूढीगंगा नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई लक्षित गरी गाउँमा विशषेज्ञ सेवा सञ्चालन गरेको छ । आर्थिक अभावले रोग पाली बसेका अति विपन्न समुदायलाई लक्षित गरी गाउँमै सेवा सञ्चालन गरेको हो ।

चिकित्सक नै गाउँमा पुर्‍याएर सेवा दिने गरी विशषेज्ञ स्वास्थ्य सेवा सञ्चालन गरिएको बूढीगंगा नगरपालिका स्वास्थ्य शाखा संयोजक दीपक शाहले बताए । नगरपालिकाले घरमै पुगेर उपचार सेवा शिविर सञ्चालन गरे पनि विशषेज्ञ नै लिएर पहिलोपटक सेवा दिएको हो ।

नगरपालिकाभित्रका १० वटै वडाका प्रत्येक बस्तीमै पुगेर सहज सेवा उपलब्ध गराउने लक्ष्य नगरपालिकाले लिएको छ । दिन बिराएर सेवा सञ्चालन गर्ने निर्णय स्वास्थ्य शाखाको छ । सेवा दिन बिहीबारदेखि नगरपालिकाको केन्द्र रहेको ५ नम्बर वडाबाट सुरु गरेको छ ।

आर्थिक अभावले रोग पाली बसेका र स्वास्थ्य संस्था टाढा भएर उपचार सुविधा लिन नसकेका वृद्धवृद्धा, महिला, असहाय, अशक्तलाई उपचार सेवामा पहुँच पुर्‍याउने लक्ष्यसहित सेवा दिन थालिएको संयोजक शाहको भनाइ छ । नगर कार्यपालिकाको निर्णयअनुसार नै वार्षिक कार्यक्रमका रुपमा सेवा दिने काम थालिएको हो । विशषेज्ञ स्वास्थ्य सेवा दिन एमडिजिपी डाक्टर दुर्गाराज महर्जनसहितको टोली खटिएको छ । टोलीले बिरामीको चेकजाँच, आवश्यक परामर्श र औषधि दिने कार्य गरेको छ ।

गाउँमा उपचार सम्भव नभएको बिरामीलाई थप उपचारका लागि रिफर गर्ने र अति विपन्न समुदायको भए नगरपालिकाले नै उपचार सुविधा दिने गरेको बताइएको छ । सबैको स्वास्थ्य संस्थामा सहज पहुँच नहुने र उपचारका लागि आर्थिक समस्या पनि देखिने भएकाले गाउँमै विशषेज्ञ पठाएर सेवा दिन थालिएको नगर प्रमुख दीपकविक्रम शाहले बताए ।

बूढीगंगा नगरपालिकाले यसै साता कुपोषित बालबालिकाको तथ्यांक संकलन गर्न र घरघरमा स्वास्थ्य शिक्षा दिन टोली पठाएको थियो । (रासस)

प्रकाशित समय ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु