गृहपृष्ठ अन्तरप्रदेश उडान भर्ने कम्पनीलाई इन्धनमा सहुलियत : मन्त्री भट्टराई
अन्तरप्रदेश उडान भर्ने कम्पनीलाई इन्धनमा सहुलियत : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक ले अन्तरप्रदेश उडान गर्ने हवाई सेवा कम्पनीलाई इन्धनमा सहुलियत दिइने बताएका छन् ।
नेपाल नागरिक उड्यन प्राधिकरणले सोमबार विराटनगर विमानस्थलको विकास र विस्तारका लागि तयार पारिएको गुरु योजनासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले प्रदेशको आर्थिक क्रियाकलाप वृद्धि र काठमाडौँको हवाई ट्राफिक घटाउन कार्य गरिरहेको जानकारी दिए । मन्त्री भट्टराईले विराटनगर विमानस्थलको वर्तमान १५ सय मिटरबाट २५ सय मिटर धावनमार्ग विस्तार सन् २०२५ भन्दा अगाडि सम्पन्न गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
उनले विराटनगर विमानस्थलबाट हिमाली उडान सेवा सुरु गर्न प्रदेश सरकार तथा स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउँदै आगामी दिनमा साना जहाजको उडान प्रदेशको राजधानीबाट अन्य क्षेत्रमा गरी काठमाडौँसँग प्रदेशको ‘कनेक्टिङ’ उडान गर्ने नीति सरकारको रहेको बताए ।
उनले निजी क्षेत्रको सहकार्यमा विमानस्थलको सञ्चालन गर्ने सरकारको सोच रहेको बताउँदै उद्यमीहरुको पूँजीको सुरक्षाको ग्यारेण्टी सरकारले लिने भएकाले ढुक्क साथ लगानी गर्न आव्हान गरे ।
कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलको विस्तार र जग्गा अधिग्रहणको निर्णय यही महिनाभित्र गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै प्रदेश सरकारले विमानस्थलको धावन मार्ग विस्तारमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । मुख्यमन्त्री राईले प्रदेश सरकारले विराटनगर विमानस्थललाई उच्च प्राथमिकतामा राखेकोको बताए ।
सो अवसरमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले आवश्यक जग्गा अधिग्रहण गरी विमानस्थलको धावन मार्ग तीन हजार मिटर बनाई क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थलको विकास गर्नुपर्र्नेमा जोड दिए ।
कार्यक्रममा प्राधिकरणका इन्जिनियर प्रदीप अधिकारीले विमानस्थलको सन् २०४० सम्मको गुरुयोजना प्रस्तुत गर्दै ११ अर्ब रुपैयाँ लगानीमा विमानस्थलको हाल रहेको १ सय २० विगाह क्षेत्रफलमा ८३ विगाह जग्गा अधिग्रहण गरेमा २४ वर्षपछि व्यस्त समयमा प्रतिघण्टा १२ सय हवाई यात्रुलाई सेवा दिन सकिने जानकारी दिए ।
उनले विमानस्थल विस्तारवाट सन् २०४० मा प्रतिवर्ष ९ लाख ५० हजार स्वदेशी तथा दुई लाख २५ हजार वाह्य पर्यटकलाई सेवा उपलव्ध गराउन सकिने बताए । विराटनगर विमानस्थलको हाल १५ सय मिटर धावन मार्ग रहेको छ । विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।
प्रकाशित समय १९:०१ बजे

















