गृहपृष्ठ चार हजार पुनर्निर्माण लाभग्राही थप
चार हजार पुनर्निर्माण लाभग्राही थप
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनर्निर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको सोमबारको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो । कार्यकारी समितिले ४१० जनालाई सम्भावित लाभग्राही र २ हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको छ ।
त्यसैगरी ३५ हजार ७९ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरिएको छ । बाँकी गुनासोको शीघ्र विश्लेषण गरी नजिता निकालिने प्राधिकरणले जनाएको छ । छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत दर्ता भएका बाँकी गुनासोको प्राधिकरण केन्द्रीय कार्यालयमा खटिएका करिब ५० इन्जिनियरले विश्लेषण गरिरहेका छन् । लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत अनुदान सम्झौता गरी पहिलो किस्ताबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै समितिले रसुवाको एउटा र मकवानपुरका दुई एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ ।
रसुवाको आमाछोदिङमो-२ सानो हाकुटोलका ४६ विस्थापित घरधुरी तथा सोही गाउँपालिकाको पाङ्लिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा खरिद गरी थप पाँच जग्गाधनी मिलेर ५१ घरधुरी एकीकृत बस्ती विकास गर्न लागेका हुन् । प्राधिकरणले एकीकृत बस्तीमा भौतिक पूर्वाधारका लागि अलग्गै प्रतिघरधुरीका दरले रकम उपलब्ध गराउँछ । प्राधिकरणले हिमाली जिल्लामा बन्ने एकीकृत बस्तीका लागि प्रतिघर ५ लाख रुपैयाँ, पहाडी जिल्लामा बन्ने बस्तीका लागि प्रतिघर ४ लाख रुपैयाँ र तराईका जिल्लामा बन्ने बस्तीका लागि प्रतिघर ३ लाख रुपैयाँका दरले एकमुष्ट रकम उपलब्ध गराउँछ ।
त्यसैगरी मकवानपुर जिल्लाका राक्सिराङ र कैशाल गाउँपालिकामा बन्ने एकीकृत बस्तीका प्रारम्भिक योजना स्वीकृत भएका छन् । राक्सिराङ-५ चुरिडाँडाटोलका १० भूकम्पपीडित घरधुरीले मनहरि गाउँपालिका-६ जोगीतालमा एकीकृत बस्ती विकास गर्दैछन् । कैशाल-१० को न्याम्सेढुंगाटोलका १० भूकम्पपीडित घरधुरीले पनि सोही वडाको बमलटारमा एकीकृत बस्ती विकास गर्ने जनाइएको छ । (रासस)
प्रकाशित समय १०:१० बजे

















