गृहपृष्ठ केराबाट मःमदेखि समोसासम्म
केराबाट मःमदेखि समोसासम्म
सामान्यतया हामी केरा पाकेपछि छोडाएर खान्छौँ । केराको स्वाद लिन धेरैले जानेको यो एउटा तरिका हो । अहिले भने केराका अनेक उत्पादन बन्न थालिसकेका छन् ।
इलामको रोङ गाउँपालिका-६ सलकपुरका विकास राईले केराका ४० भन्दा बढी परिकार बनाएर बेच्न थालेका छन् । गाउँपालिकाको सहयोगमा कैलालीमा गएर तालिम लिएका राईले गाउँमै उत्पादित केराबाट मःम, समोसा, मिटबल, चिप्स, निम्की, जुस, वाइन, पकौडा, खिर, अचार, तरकारीलगायत तयारी परिकार बजार पठाउन थालेका छन् ।
केराका परिकार ग्राहकलाई चखाएर बजारीकरण गर्न उनी विभिन्न मेला र महोत्सवमा पुग्छन् । आफैंले समेत यस्ता मेला आयोजना गरिसकेका राईले केराको मात्र परिकार बनाउने गरी ५ लाख रुपैयाँको लगानीमा गाउँमै रेस्टुरेन्ट सञ्चालनको तयारी गरेका छन् । ‘एक पटक आएका ग्राहक फेरि फर्किएर आइरहेका छन्, पक्कै मन पराएरै उनीहरु आएको हुनुपर्छ,’ उनले भने । सलकपुरका भारतीय ग्राहक पनि आउने गर्छन् ।
अहिले बजारमा केराको राम्रै माग छ । कुनै परिकार निर्माण नगर्दा पनि राम्रै मूल्यमा बिक्री हुने केराबाट परिकारसमेत बनाउन थालेपछि अझ यसको भाउ बढ्न सक्छ । राईले उत्पादन गरेका केराका परिकार जारी प्रथम सूर्योदय नगर पर्यटन महोत्सवमा छ । यही मंसिर १४ देखि १८ गतेसम्म चल्ने महोत्सवमा आउने पर्यटकले केराका विभिन्न परिकार खाने तथा कोसेलीका रूपमा लैजानेसमेत गरेका छन् । महोत्सवमा घुम्न आएका झापाका दिपिन राईले केराबाट निर्मित परिकार गुणस्तरीय, सफा र राम्रो भएको बताए ।
केरा मानिसको शरीरलाई आवश्यक र पौस्टिक आहारका रूपमा लिइन्छ । केरामा पाइने भिटामिन सी, भिटामिन बी सिक्स, म्यागनिज, पोटासियम, फाइबर र बायोटिनजस्ता तत्व शरीरका लागि जरुरी पोषकका रूपमा लिइन्छ । यस्ता तत्वले शरीरलाई आवश्यक क्यालोरी प्रदान गर्दै तौल बढाउन सहयोग पुर्याउने विज्ञहरुको भनाइ छ । आवश्यकभन्दा बढी केरा खाएमा त्यसमा पाइने क्यालोरीले तौल बढाउन सक्ने भन्दै बढी तौल भएकाले धेरै केरा खान हुँदैन ।
चिप्स बनाउने तरिका
केराबाट आलुको जस्तै चिप्स पनि निर्माण गर्न सकिन्छ । यसबाट निर्माण गरिएको चिप्सलाई ‘बनाना चिप्स’ भन्ने गरिएको छ । बनाना चिप्स अंग्रेजी नाम मात्र हो । चिप्स बनाउन काँचो केरालाई ताछेर काट्नुपर्छ । काटिएको केरालाई तेलमा फ्राई गरेर मसलासहितको नुन राखेर चिप्स निर्माण गर्न सकिन्छ, धेरैले यसलाई मन पराउने गरेका छन् । एकपटक खाएको केराको चिप्स खाएकाले पटक-पटक यसकै माग गर्ने गरेका छन् । चिप्समा केराको बास्ना आउने भएकाले पनि अनौठो स्वादका रूपमा यसलाई लिने गरिन्छ । (रासस)
प्रकाशित समय १२:४७ बजे

















