गृहपृष्ठ अर्जुनधारामा विपन्न परिवारका लागि घर निर्माण गरिँदै
अर्जुनधारामा विपन्न परिवारका लागि घर निर्माण गरिँदै
विपन्न परिवारका लागि अर्जुनधारा नगरपालिकामा ३३ घर निर्माणको काम सुरु भएको छ । लक्षित वर्ग कार्यक्रमअन्तर्गत प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको सहरी विकास तथा भवन कार्यालय इलामले घर निर्माणको काम सुरु गरेको हो ।
घर निर्माणका लागि १ करोड ९ लाख ७२ हजार ५ सय रुपैयाँ बजेट विनियोजन भएको प्रदेश १ का प्रदेशसभा सदस्य वृख प्रधानले बताए । अर्जुनधारा नगरपालिका-८ स्थित प्रज्वल साहको घर शिलान्यास गर्दै प्रधानले भने, ‘लक्षित वर्ग कार्यक्रमअन्तर्गत बन्ने घर भूकम्प प्रतिरोधात्मक हुन्छन्, एउटा घर निर्माणका लागि ३ लाख २५ हजार रुपैयाँ खर्च हुन्छ ।’
आर्थिक वर्ष २०७६-७७ को संघीय सरकारद्वारा विनियोजित बजेटबाट २८ र प्रदेश सरकारबाट पाँच गरी अर्जुनधारा नगरपालिकाभित्र ३३ घर निर्माणको काम सुरु भएको उनले जानकारी दिए । (रासस)
प्रकाशित समय ११:०९ बजे

















