गृहपृष्ठ आगामी सातादेखि अनुमतिपत्र छापिने
आगामी सातादेखि अनुमतिपत्र छापिने
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ । ‘मास प्रिन्टर’ मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो ।
केही दिनदेखि ‘मास प्रिन्टर’ मार्फत छपाइ सुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले दिनमा एक कार्य समयमा मात्रै छपाइ भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार अहिले विभागका सात जना कर्मचारीले उपकरण सञ्चालनको तालिमसमेत लिइरहेका छन् । उनीहरुले तालिम सकेसँगै उपकरण पूर्ण रुपमा चलाउन लागिएको हो । उनले भने, ‘एक साताभित्रमा तालिम सकाएर मास प्रिन्टर पूर्ण रुपमा छपाइमा जानेछ ।’
मास प्रिन्टरले दैनिक साढे सात हजारसम्म चालक अनुमतिपत्र छाप्ने बताइएको छ । ‘मास प्रिन्टर’ सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा आउने उनको भनाइ छ । पुरानो उपकरण कुनैमा समस्या आए पनि विभागले मर्मत गरेर सञ्चालन गरिरहेको छ ।
अहिले पनि एक कार्य समयमा छाप्दा दैनिक २ हजार ५ सय कार्ड छापिरहेको छ । तीन कार्य समयमा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको उनले बताए । देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले झन्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी छ । (रासस)
प्रकाशित समय १५:०३ बजे

















