गृहपृष्ठ हंस सहकारीको प्रांगारिक उत्पादन बजारीकरण

हंस सहकारीको प्रांगारिक उत्पादन बजारीकरण

sahakari-newskarobar

नारायणगढमा रहेको हंस बहुद्देश्यीय सहकारी संस्थाले प्रांगारिक उत्पादन र बजारीकरण सुरु गरेको छ । कृषि उत्पादनमा विषादीको बढी प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको भन्दै आफ्ना सदस्य र सर्वसाधारणलाई प्रांगारिक उत्पादन बिक्री गर्ने उद्देश्यले सहकारीले यो काम सुरु गरेको जनाएको छ ।

संस्थाका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार नारायणगढ बजारमा मासिक १० हजार रुपैयाँ भाडा तिर्ने गरी दुई वटा सटरमा हंस प्रांगारिक बजार सुरु गरिएको छ । यसअघि नै संस्थाले हंस कृषि अनुसन्धान तथा उत्पादन केन्द्रमार्फत प्रांगारिक उत्पादन गर्दै आएको थियो । बजार भने यसै साताबाट सञ्चालनमा आएको हो ।

बजारमा मनाङ, मुस्ताङ र जुम्लामा उत्पादित आलु, अदुवा, किबी, स्याउ, मार्सी चामल, कालो सिमीको दाल, ओखर जस्ता कृषि उत्पादन बिक्रीका लागि राखिएको छ । यसैगरी चितवनको तल्लो काउले क्षेत्रमा उत्पादन भएका भुइँ स्याउ, सुन्तला, मौसम, साग, फर्सी, स्कुस, केराउ र मकैजस्ता उत्पादन पनि बजारमा रहेको चुकेले जानकारी दिए ।

उक्त बजारमा इलामको चिया, तिल, अकबरे अचार, टिमुर र अलैँचीजस्ता उत्पादन पनि बिक्रीका लागि राखिएको छ । सहकारीको आफ्नै उत्पादन आएपछि ती उत्पादन र देशैभरमा भएका प्रांगारिक उत्पादनलाई सर्वसाधारणसम्म पुर्‍याउने लक्ष्य रहेको चुकेको भनाइ छ । सहकारीको उत्पादन केन्द्रमा भर्खरै मात्र दुई बिघा जमिनमा लगाइएको धान काटेर तरकारी लगाउने तयारी गरिएको छ । थप करिब पाँच बिघा जमिनमा प्रांगारिक तरकारी लगाइने तयारी गरिएको जनाइएको छ ।

विसं २०५६ मा स्थापना भएको सो सहकारीमा हाल ३ हजार ४ सय सदस्य रहेका छन् । सेयर पुँजी मात्र ९ करोड ५० रूपैयाँ लाख रहेको सहकारीको हालसम्मको निक्षेप ४८ करोड रूपैयाँ र लगानी ५४ करोड रुपैयाँ रहेको उनले जानकारी दिए । (रासस)

प्रकाशित समय १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु