गृहपृष्ठ स्वास्थ्य स्वयंसेविकाकाे नि:शुल्क स्वास्थ्य बिमा
स्वास्थ्य स्वयंसेविकाकाे नि:शुल्क स्वास्थ्य बिमा
स्याङ्जाको फेदीखोला गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।
गाउँपालिकामा कार्यरत ३८ जना महिलालाई प्रोत्साहन स्वरुप निःशुल्क स्वास्थ्य बिमा गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
‘स्वास्थ्यका क्षेत्रमा महिला स्वयंसेविकाको योगदान महत्वपूर्ण छ’, अध्यक्ष सुवेदीले भने, ‘उहाँहरुको योगदानलाई आगामी दिनमा थप प्रोत्साहन दिन गाउँपालिकाले आगामी हिउँदे सभाबाट निर्णय गरी सबै महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको हो ।’
फेदीखोला गाउँपालिकाले देशमै पहिलो पटक स्थानीय तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप वार्षिक रु आठ हजार २५० उपलब्ध गराउँदै आएको अध्यक्ष सुवेदीले बताए ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर सर्वसुलभ रुपमा स्वास्थ्यसेवा पुर्याउने उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए ।
फेदीखोला गाउँपालिकाले १६औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवसमा वर्षभरिको कार्य सम्पादन तथा सम्बन्धित स्वास्थ्य चौकीको मूल्यांकन गर्दै चार जना स्वास्थ्य स्वयं सेविकालाई सम्मान गरेको स्वास्थ्य शाखाका संयोजक खिलप्रसाद पौडेलले बताए ।
यस वर्ष फेदीखोला स्वास्थ्य चौकीकी स्वयंसेविका प्रेमकुमारी सुवेदी, आरुखर्क स्वास्थ्य चौकीकी स्वयं सेविका डबलकुमारी गुरुङ, भाटखोला स्वास्थ्य चौकीकी स्वास्थ्य स्वयं सेविका मिठू थापा र बाङ्गेफड्के स्वास्थ्य चौकीकी स्वास्थ्य स्वयं सेविका टीकाश्री गुरुङ सम्मानित भएको फेदीखोला गाउँपालिकाले जनाएको छ । (रासस)
प्रकाशित समय ०९:५३ बजे

















