गृहपृष्ठ योजना ६३ करोडको, कोषमा रकम ५० लाख रुपैयाँ

योजना ६३ करोडको, कोषमा रकम ५० लाख रुपैयाँ

तनहुँको दमौलीमा निर्माण गर्न लागिएको १०८ फिटको व्यासमूर्तिसहितको संरचना निर्माणका लागि ६३ करोड रुपैयाँ लाग्ने अनुमान गरिए पनि व्यास क्षेत्र शिव पञ्चायन कोषमा ५० लाख रुपैयाँ मात्रै बजेट छ । कोषमा बजेट नभएकै कारण मूर्ति निर्माणको कामलाई अगाडि बढाउन नसकिएको कोषले बताउँदै आएको छ ।

जनस्तरबाट थालिएको मूर्ति निर्माणको अभियानअन्तर्गत हालसम्म डिपिआर बनाउने काम मात्रै सम्पन्न भएको कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । मूर्ति निर्माणका लागि सहयोग गर्न संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न क्षेत्रमा सहयोगको अपिल गरिएको छ । ‘कोषमा व्यास नगरपालिकाले उपलब्ध गराएको ५० लाख रुपैयाँ मात्रै छ, त्यसले त जग खन्न पनि पुग्दैन,’ श्रेष्ठले भने, ‘बजेट कसरी जुटाउने भन्ने ठूलो चुनौती आइलागेको छ, तर असम्भव भने छैन ।’

व्यासभूमिलाई धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित मूर्ति निर्माणको कामलाई अगाडि बढाउन खोजिएको छ । १०८ फिटको मूर्ति निर्माणको दायित्व व्यास नगरपालिकाको मात्रै नभई जिल्लाका सबै स्थानीय तह र स्थानीयवासीको पनि रहेकाले सबैले यसमा सहयोग गर्नुपर्ने श्रेष्ठले बताए ।

व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम संकलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब ७० लाख रुपैयाँ संकलन भएको थियो । सो रकममध्ये १० लाख रुपैयाँको लागतमा नमुना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।

व्यासमूर्तिसहित सबै संरचना निर्माणका ६२ करोड ८५ लाख ५ हजार २११ रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । अर्थक्विक सेफ्टी सोलुशन्सले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार ९९३ रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार २१७ रुपैयाँ लाग्ने अनुमान छ ।

निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै ७ करोड रुपैयाँ खर्च हुने अनुमान छ । व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र संग्रहालय र पुस्तकालय हल प्रस्ताव गरिएको छ ।

गुरुयोजनाअनुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउन्टर, गार्ड घर, कोसेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, संग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ वटा साना व्यासका मूर्तिहरु, व्यासका अनुयायीहरुको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्छ ।

मूर्ति निर्माणको सन्दर्भमा कोषले शुक्रबार दमौलीमा जनप्रतिनिधिसँग परामर्श कार्यक्रमको आयोजना गर्‍यो । मूर्ति निर्माणका लागि बजेट जुटाउन जनप्रतिनिधिको पहलकदमी आवश्यक रहेको ठहर गरी कोषले परामर्श कार्यक्रमको आयोजना गरेको हो । तनहुँ क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद केदार सिग्देलले मूर्ति निर्माणको अगुवाई कोषले नै गर्नुपर्ने र बजेट जुटाउन जनप्रतिनिधिले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकले मूर्ति निर्माणको दायित्व सबैको भएकाले प्रदेश सरकारका तर्फबाट बजेट विनियोजन गराउन आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाए । संघीय सांसद कलिला खान, प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वकुण्ठ न्यौपानेलगायतले मूर्ति निर्माणका लागि बजेट जुटाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । (रासस)

प्रकाशित समय १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु