गृहपृष्ठ विराटनगरमा पहिलोपटक सडक महोत्सव आयोजना हुँदै

विराटनगरमा पहिलोपटक सडक महोत्सव आयोजना हुँदै

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा विराटनगरमा पनि सडक महोत्सव आयोजना हुने भएको छ । मञ्जिना मुभिज क्रिएसनको आयोजनामा माघ १ देखि तीन दिने महोत्सव आयोजना हुने भएको हो ।

प्रदेश १ को राजधानी विराटनगरमा पहिलोपटक सडक महोत्सवको आयोजना हुन लागेको क्रिएसनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा निजी क्षेत्रबाट सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको ताम्राकारले बताए । ‘भ्रमण वर्षलाई सफल बनाउनु हामी सबैको कर्तव्य हो । यस महोत्सवको माध्यमबाट केही संख्यामा भए पनि भारतीय पर्यटक भित्र्याउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौँ,’ उनले भने ।

विराटनगर महानगरपालिकाको सहयोगमा हुने महोत्सव स्थानीय शनिहाटमा हरेक दिन दिउँसो ३ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन, विभिन्न खाना तथा अन्य व्यावसायिक स्टलहरु रहनेछन् ।

महोत्सव अवधिभर सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरु पनि राखिने निर्देशक ताम्राकारले जानकारी दिए । उनका अनुसार सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकर्मीहरुलाई पहिलो प्राथमिकता दिइने छ । राष्ट्रियस्तरका कलाकारहरुको पनि हरेक दिन प्रस्तुति रहने उनले जानकारी दिए ।

आयोजकका अनुसार महोत्सवमा १ सय वटा स्टल राखिने तयारी भएको र यसका लागि बुकिङसमेत खुला गरिएको छ । महोत्सवमा प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरुको संक्षिप्त जानकारी दिइने तथा पर्यटकीय स्थलहरुको तस्बिरसमेत प्रदर्शन गरिनेछ । १ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने तथा करिब १ करोड रुपैयाँको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।

प्रकाशित समय १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु