गृहपृष्ठ तापमान वृद्धिको प्रभावबारे ध्यानाकर्षण गराउँछौँ : मन्त्री बस्नेत

तापमान वृद्धिको प्रभावबारे ध्यानाकर्षण गराउँछौँ : मन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन (कोप-२५)मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति स्पेन प्रस्थान गरेका छन् ।

स्पेनको म्याड्रिडमा भइरहेको कोप-२५ को विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । म्याड्रिड प्रस्थानअघि मन्त्री बस्नेतले हिमालयहरुमा हिउँ पग्लने क्रम तीव्र रुपमा बढेकाले विश्व तापमानमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेकोतर्फ नेपालले सभाको ध्यानाकर्षण गराउने बताए । साथै उनले त्यसबाट उत्पन्न विषम परिस्थितिको सामना गर्ने सम्बन्धमा योजना तय गर्ने प्रस्ताव राख्ने जानकारी गराए ।

सम्मेलनमा नेपालले अधिक कार्बन उत्सर्जन गरिरहेका विकसित मुलुकहरुले नेपालजस्ता जलवायु परिवर्तनमा कम योगदान भएर पनि अतिप्रभावित गरिब तथा तेस्रो मुलुकले क्षतिपूर्तिस्वरुप पाउनुपर्ने ‘हरित जलवायु कोष’ उपलब्ध गराउन लबिङ गर्ने बताइएको छ । यसअघि दक्षिण अमेरिकी मुलुक चिलीको सान्टियागोमा तय भएको कोप-२५ त्यहाँको सरकारले विषम राजनीतिक परिस्थितिका कारण व्यवस्थापन गर्न सक्षम नरहेको बताएपछि सम्मेलनको स्थल स्पेन सारिएको हो ।

यही मंसिर १६ मा सुरु भएर २७ गतेसम्म चल्ने सम्मेलनमा विश्वका १९७ मुलुकका राष्ट्र तथा सरकार प्रमुख, वातावरणमन्त्रीका साथै जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि सहभागी छन् । मन्त्री बस्नेत सम्मेलनमा सहभागी भएर मंसिर २९ गते स्वदेश फर्कने कार्यक्रम छ । (रासस)

प्रकाशित समय १२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु