गृहपृष्ठ आर्चरीमा बंगलादेशको ‘क्लिन स्वीप’
आर्चरीमा बंगलादेशको ‘क्लिन स्वीप’
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ ।
१० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालाको आर्चरी खेल मैदानमा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिम तर्फको इभेण्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।
सोमबार भएको रिकर्भ महिला तथा पुरुष तर्फ बंगलादेशले स्वर्ण पदक हात पार्न सफल भयो भने कम्पाउण्ड तर्फको महिला तथा पुरुषतर्फ पनि स्वर्ण पदक हात पार्न सफल भएको हो ।
सोमबारको खेलमा रिकर्भ पुरुषतर्फको खेलमा बंगलादेशका विश्व र्याङकिङ १० आंैं भित्र पर्ने उत्कृष्ट खेलाडी एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गर्दै स्वर्ण हात पारे सोहि इभेण्टको महिला तर्फ बंगलादेशकी १४ वर्षकी उदयमान खेलाडी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।्
रिकर्भ एकल पुरुषतर्फ श्रीलंकाले कास्य पदक हात पार्न सफल भयो । श्रीलंकाका डिई शिल्भा एमएसले भुटानका स्लामा मोहमदलाई पराजित गर्दै कास्य पदक जित्दा सोहि इभेण्टको महिलातर्फ बंगलादेशकी मोनिरा मोहानाजले भुटानकी कर्मालाई पराजित गर्दै कास्य पदक जितेकी हुन् । कर्मा ओलम्पिकमा छनौट भएकी खेलाडी हुन् ।
त्यसै गरी कम्पाउण्ड एकल पुरुषतर्फ बंगलादेशका राना एमडी सोहीलले दोर्जे तेण्डीङलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भयो । कास्य पदकको लागि भएको खेलमा बंगलादेशका दास असिम कुमारले श्रीलंकाका वासान्त कुमारलाई पराजित गरी कास्य पदक जितेका हुन् ।
सोही इभेण्टको महिला तर्फ बंगलादेशकी विश्वास सुमाले श्रीलंकाकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् । श्रीलंकाले यस बिधामा कास्य पदक हात पार्यो । श्रीलंकाकी दमयन्तीले बंगलादशेकी बनिक सुस्मितालाई पराजित गर्दै कास्य पदक जितेकी हुन् ।
आइतबार ६ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा ६ वटा स्वर्ण पदक माथि बंगलादेशले एक्लौटी ढंगले बर्चश्व जमाउन सफल भएको थियो । बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्सतर्फ स्वर्ण पदक हात पार्न सफल भएको हो ।
बंगलादेशका प्रमुख प्रशिक्षक मार्टिनले आफूहरुले सागको लागि ६ महिनादेखि बन्द प्रशिक्षण गरेको धेरै मेहनत गरेकोले उत्कृष्ट नतिजा आएको बताए । दुई वर्षदेखि बंगालादेशको टिम प्रशिक्षण गराउँदै आएको बताएका उनले आफूहरुसँग वल्र्ड च्याम्पियनशिपमा कास्य पदक विजेता साना, कक्षा ८ मा अध्यनरत १४ वर्षकी खातुनजस्ता उदयमान खेलाडीले आफूहरुले प्रशिक्षण गराए अनुसार उत्कृष्ट प्रर्दशन गरेको जनाए ।
१२ औं सागमा कास्य पदक मात्र हात पार्न सफल भएको नेपालले घरेलु मैदानमा भने रजत पदकसम्म हात पार्न सफल भयो । सागमा सहभागी राष्ट्रमध्य प्रमुख दाबेदारको रुपमा भारतलाई मानिए पनि यस पटक भारत सहभागी नहुँदा अधिकाशं पदक बंगलादेशले हात पार्न सफल भयो ।
नेपालले आर्चरीको खेल सामाग्री समयमै उपलब्ध हुन नसक्दा सोचे अनुरुप स्वर्ण पदक ल्याउन नसकिएको आर्चरी प्रशिक्षक वसन्त थकालीले बताए ।
विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसदद्धय मोहन रेग्मी, दीपक कोइराला, राखेप सदस्य राजेश कुमार गुरुङ, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
नेपालले एक रजत, २ कास्य सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ रजत पदक प्राप्त गरेको हो । नेपाल सहित ४ देश सहभागी भएको खेलमा अन्तिम समयमा पाकिस्तान सहभागी नभएको हो ।
प्रकाशित समय १३:१० बजे

















