गृहपृष्ठ विजयबाबु स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई

पहिलो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार – २०७६ वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई प्रदान गरिएको छ । न्युज कारोबारको तेस्रो वार्षिकोत्सव समारोहका अवसरमा वरिष्ठ पत्रकार अधिकारीलाई पुरस्कार प्रदान गरिएको हो ।

स्व. विजयबाबु खत्रीको आठौं स्मृति दिवसका अवसरमा न्युज कारोबार अनलाइन पत्रिका प्रकाशनार्थ स्थापित नेपाल समाचार केन्द्रकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले मंसिर १२ गते अधिकारीलाई पुरस्कार घोषणा गरेअनुसार आज प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा गठित समितिले अधिकारीलाई पहिलो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । समितिमा प्रेस काउन्सिल सदस्य शुभेच्छा विन्दु तुलाधर र न्युज कारोबारका सम्पादक डीआर आचार्य सदस्य थिए । पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ । कारोबार आर्थिक दैनिकको प्रोमोसनका लागि देशदौडाहामा निस्किएका बेला २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सवारी दुर्घटनामा खत्रीको निधन भएको थियो ।

पुरस्कार प्रदान गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले नेपाली पत्रकारिता जगतका पुराना पत्रकार अधिकारीले यो पुरस्कार पाउनु एकदमै खुसीको कुरा भएको बताए । ‘पत्रकारितामा विकृति मौलाइरहेका बेलामा अधिकारी जस्ता व्यक्तिको ज्ञान नयाँ जेनेरेसनका लागि ठूलो अवसर हुनेछ,’ उनले भने, ‘संसारमा सबैभन्दा राष्ट्रवादी भनेकै पत्रकार हुन् तर केही अनलाइन र पत्रपत्रिकाले गर्दा स्वच्छ पेसालाई धमिलो पारेको छ ।’ पत्रकारिता क्षेत्र बौद्धिक हुनुपर्नेमा ‘पित पत्रकारिता’ बढेको भन्दै उनले दुखेसो गरे ।

पुरस्कार ग्रहण गर्दै वरिष्ठ पत्रकार अधिकारीले पनि पत्रकारिता क्षेत्रमा अहिले ‘बिकाउ’ बढी भएको टिप्पणी गरे । ‘अनलाइनहरु दर्ता भएर सञ्चालन भएकादेखि नभएकासम्मले पनि स-साना तथा तथ्यहीन कुरालाई भाइरल बनाएको र अनावश्यक कुरालाई स्थान दिएका छन्,’ पत्रकारितामा क्षमता बढाउँदै गएका स्व. पत्रकार विजयबाबुलाई सम्झिँदै उनले भने, ‘पत्रकारितामा पनि आर्थिक क्षेत्रमा निकै ख्याती कमाएका पत्रकार विजयबाबुको अकल्पनीय निधनले पत्रकारिता क्षेत्रमा निकै क्षति पुर्‍याएको छ ।’

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताको स्वनियमन हुनुपर्ने र पत्रकार आफैं नैतिक बन्नुपर्ने बताए । ‘पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउने दायित्व पत्रकारकै हो, अन्यत्रबाट नियमनको अपेक्षा गर्नु पनि हुँदैन,’ उनले भने ।

अनलाइन पत्रिका लोकान्तर डटकमका अध्यक्ष अधिकारी चार दशकदेखि पत्रकारिता क्षेत्रमा आबद्ध छन् । २०३४ सालमा ‘लन्डन स्कुल अफ जर्नालिजम’मा पत्रकारितामा डिप्लोमा गरेका अधिकारीसँग त्यहाँ रहँदा बिबिसी नेपाली सेवामा आउटसाइड कन्ट्रिब्युटरको रुपमा काम गरेको पुरानो अनुभव छ ।

प्रकाशित समय १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु