गृहपृष्ठ ‘भारी हिमपातसँगै वर्षा हुनसक्छ, सतर्क रहनुहोस्’
‘भारी हिमपातसँगै वर्षा हुनसक्छ, सतर्क रहनुहोस्’
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भूभागबाट न्यून चापीय प्रणालीको प्रवेश भएको भन्दै सतर्क रहन नागरिकलाई अपिल गरेको छ । विशेष मौसम बुलेटिन जारी गरी महाशाखाले बुधबार साँझ नेपाल प्रवेश गरेको न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको भन्दै सतर्क रहन आग्रह गरेको हो ।
यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उक्त प्रणालीका कारण देशैभर बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने देखिन्छ । साथै यस प्रणालीका कारण देशका पश्चिमी भू-भागका धेरै स्थानमा र मध्य तथा पूर्वी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत छ । बुधबारबाट सुरू भई यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने महाशाखाको अनुमान छ ।
प्रकाशित समय २०:०५ बजे

















