गृहपृष्ठ बम पड्काइदिने धम्की दिएर पैसा असुल्न खोज्ने चारजना प्रहरीको फन्दामा
बम पड्काइदिने धम्की दिएर पैसा असुल्न खोज्ने चारजना प्रहरीको फन्दामा
बम पड्काउने धम्की दिएर फिरौती रकम माग गरेको अभियोगमा परवानिपुर गाउँपालिका ४ चैनपुरबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । बारा परवानिपुर गाउँपालिका ४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देवशंकर राम, जितपुर सिमरा उपमहानगरपालिका २० बस्ने २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाँउपालिका ३ बस्ने ३९ वर्षीय दिपेन्द्र कुमार धानुकलाई प्रहरीले पक्राउ गरेको हो ।
बारा परवनीपपुर गाँउपालिका ४ स्थित एमएस इँट्टा उद्योगका सञ्चालक बारा कलैया उपमहानगरपालिका २५ बस्ने मनोजप्रसाद साह तेलीलाई बारा परवानीपुर गाउँपालिका ४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढले तीन महिनादेखि पटक–पटक फोन गरी १५ लाख रुपैयाँ फिरौती रकम माग गरेको प्रहरीले जनाएको छ । फिरौती रकम दिन अस्वीकार गरेपछि कात्तिक ४ गते प्रमोद गोढसमेतले मनोजप्रसाद तेलीको उक्त इँट्टा उद्योगमा बम विस्फोट गरी ‘फिरौती रकम दिनु नत्र घरपरिवार समेतलाई खतरा हुनेछ’ भनी मोबाइलबाट एसएमस तथा फोन गरी धम्की दिएपछि बुधबार फिरौती रकम ३ लाख लिएर परवानिपुर गाउँपालिका-४ स्थित चैनपुरमा बोलाएका थिए ।
फिरौती रकम माग गरी लिन जाने उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ दफा २५३ बमोजिम आपराधिक लाभ कसुर मुद्दामा बारा जिल्ला अदालतबाट म्याद गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
पक्राउ परेकामध्ये प्रमोद साह गोढलाई पर्सा वीरगन्ज उपमहानगरपालिका ८ स्थित सडकबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले अवैध घरेलु नलकटुवा बन्दुक १ थान र ३ राउण्ड गोली सहित२०७३ चैत्र २८ गते पक्राउ गरी हातहतियार खरखजना मुद्दा चलाएको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरुले बारा प्रसौनी गाउँपालिका-४ बस्ने नन्दकिशोर प्रसाद कुम्हाललाई मोवाइलबाट धम्की दिई ५० लाख रुपैयाँ फिरौती माग गरेको र फिरौती रकम नदिए पश्चात २०७६ असोज १० गते रातको समयमा सुतली बम बिष्फोटन गराएको तथा परवानीपुर गाउँपालिका ४ स्थित नारायणी आयल रिफाइनरीमा समेत धम्की दिई फिरौती रकम माग गरेका थिए । रकम नदिएपछि २०७६ असोज २ गते सुतली बम विस्फोट गराएको र सो रिफाइनरीबाट २५ हजार रुपैयाँ फिरौती रकम लिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रकाशित समय १८:४० बजे

















