गृहपृष्ठ राष्ट्रिय दलित पत्रकार संघ गठन
राष्ट्रिय दलित पत्रकार संघ गठन
राष्ट्रिय दलित पत्रकार संघ नेपाल मोरङको अध्यक्षमा किशोर विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । मोरङमा क्रियाशील दलित समुदायका पत्रकारहरुको विराटनगरमा आईतबार सम्पन्न प्रथम जिल्ला भेलाले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा खड्ग नेपाली, सचिवमा तिलक नेपाली, सहसचिवमा सुष्मा नेपाली र कोषाध्यक्षमा अनु बराईली चयन भएका छन् । भेलाबाट मिलन गहतराज, डिल्लीराम पौडेली, काजीमान लाम्गादे, जिना पौडेली र एलिना दियाली सदस्यमा सर्वसम्मत भएका छन् । पदमकुमार सरदारलाई पुस ४ र ५ गते धनकुटामा हुने प्रदेश भेला तथा प्रदेश समिति चयनमा मोरङको प्रतिनिधित्व गर्दै सहभागिताका लागि पठाउने निर्णयसमेत भेलाले गरेको छ ।
नवगठित समितिलाई संघ नेपालका केन्द्रीय उपाध्यक्ष गोपाल बराईलीले बधाई तथा शुभकामना दिँदै दलित समुदायका सवालहरुलाई आफु कार्यरत सञ्चार माध्यममा सशक्त रुपले उठाउन आग्रह गरे । उनले दलित समुदायको सशक्तीकरणमा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै समुदायको चौतर्फी विकासमा लागि पर्न जोड दिए ।
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले दलित समुदायको मुल प्रवाहीकरणमा पत्रकारिता क्षेत्रमा पनि दलित समुदायको उपस्थिति राम्रो बन्दै गएको बताए । उनले राष्ट्रिय समितिलाई बधाई तथा शुभकामना दिँदै जिल्लामा क्रियाशील दलित पत्रकारको खोजी गरी सबैलाई समेट्न सुझाव दिए । अध्यक्ष पोखरेलले जिल्लाका सबै प्रकारका सञ्चार माध्यममा दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने बताए ।
प्रकाशित समय १८:२३ बजे

















