गृहपृष्ठ राजनीतिक प्रतिवेदनले औँल्यायो ‘सरकारले ध्यान दिनुपर्ने’ पाँच बुँदा
राजनीतिक प्रतिवेदनले औँल्यायो ‘सरकारले ध्यान दिनुपर्ने’ पाँच बुँदा
क्षेत्राधिकार स्पष्ट पार्ने ऐनहरु बन्न नसक्दा समस्या
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डद्वारा पेश गरिएको राजनीतिक प्रतिवेदनले ‘सरकारले ध्यान दिनुपर्ने’ बुँदाहरू औल्याएको छ । अध्यक्षद्वयको तर्फबाट प्रस्तुत प्रतिवेदनमा पाँच बुँदामार्फत सरकारका कमजोरीहरू उल्लेख गरिएको छ ।
संघ, प्रदेश स्थानीय सरकारका क्षेत्राधिकार स्पष्ट पार्ने ऐनहरु बन्न नसक्दा समस्या उत्पन्न भएको सो प्रतिवेदनमा उल्लेख छ । ‘निजामतीसँग सम्बन्धित छाता ऐन र नागरिकतासम्बन्धी ऐन यथाशीघ्र निर्माण गरी संविधानको भावना र मर्मअनुसार तीन तहका सरकार सञ्चालन प्रभावकारी बनाउनुपर्दछ,’ पहिलो बुँदामा भनिएको छ ।
विवादित बनेपछि फिर्ता लिनुपरेको गुठी विधेयकबाट शिक्षा लिन प्रतिवेदनले सुझाव दिएको छ । विधेयक मस्यौदा तयार गर्दा सरकारकाले सम्बन्धित क्षेत्रका विज्ञहरुको राय र सल्लाह लिन आवश्यक रहेको पनि उल्लेख छ ।
प्रतिवेदनमा सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सुरक्षाको क्षेत्रमा सरकारले खासै प्रगति गरेको अनुभूति नभएकाे, जनगुनासो स्थानीय स्तरदेखि केन्द्रसम्म सुनिने गरिएको उल्लेख छ । प्रतिवेदनमा ‘सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण अझ प्रभावकारी कदम चाल्न आवश्यक छ,’ भनिएको छ।
संवैधानिक र राजनीतिक नियुक्तिमा ढिलाइ हुँदा राज्य सञ्चालनमा व्यवधान उत्पन्न भएको नेकपाको निस्कर्ष छ । यस्तो नियुक्तिमा समावेशी र समानुपातिक सन्तुलन मिलाउन आवश्यक रहेको कुरामा सरकारको ध्यान आकृष्ट गराइएको छ ।
तत्काल जनताले परिणाम देख्ने र राहत महसुस गर्ने काम र योजनामा सरकारको ध्यान कम जाने गरेको जनगुनासोलाई पनि सरकारले गम्भीरतापूर्वक लिन जरुरी भएको प्रतिवेदनमा औंल्याइएको छ ।
प्रकाशित समय १८:०१ बजे

















