गृहपृष्ठ सिद्धबाबालाई ‘हिरासतमा राख्न’ पुन म्याद थप, अदालतबाट सिधै नर्सिङ होम ल्याइए

सिद्धबाबालाई ‘हिरासतमा राख्न’ पुन म्याद थप, अदालतबाट सिधै नर्सिङ होम ल्याइए

बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले थप ७ दिनको म्याद दिएको छ ।

सुनसरीको चतरास्थित आश्रममा बस्दै आएका गिरीलाई जिल्ला अदालत सुनसरीले थप अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो । न्यायाधीश मणिराम न्यौपानेको इजलासले गिरीलाई थप ७ दिन अस्पतालमै निगरानीमा रहने गरी म्याद थपेको हो । अदालतले यसअघि तीनपटक गरी १४ दिनको म्याद दिइसकेको छ ।

‘आजबाट लागू हुनेगरी थप भएको ७ दिनभित्र अनुसन्धान सकी अदालतमा उपस्थित गराउनू’ आदेशमा भनिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोद शर्माले अदालतको आदेशबमोजिम तत्कालका लागि आरोपित गिरीलाई विराट नर्सिङ होममै फर्काइएको बताए ।

यसअघि प्रहरीले ३ दिनको म्यादसँगै कृष्णदासको मुद्दा अदालतसमक्ष बुझाइने बताएको थियो । सोहीअनुरुप आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय इनरुवामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले प्रहरीले अनुसन्धान सकिएको भन्दै अनुसन्धान प्रतिवेदन बुझाए पनि अनुसन्धानको कागजात पर्याप्त र अभियोग पूरक नभएकाले अदालतसमक्ष पुनः थप म्याद मागिएको बताए ।

प्रकाशित समय १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु