गृहपृष्ठ सडक दुर्घटनामा पहिलोपटक छानबिन समिति गठन
सडक दुर्घटनामा पहिलोपटक छानबिन समिति गठन
सडक दुर्घटनामा पहिलोपटक छानबिन समिति गठन भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले मंसिर २९ गते सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ लामोसाँघु–जिरी सडकखण्डको स्वाँरा (६ किलो घुम्ती) भएको दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति बनाएको हो ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सहसचिव राजेन्द्रराज शर्माको संयोजकत्वमा गृह मन्त्रालय, ट्राफिक प्रहरी र यातायात व्यवसायी महासंघका प्रतिनिधिसमेतको संलग्नतामा समिति गठन भएको मन्त्रालयले जनाएको छ । समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनेछ ।
हवाईजहाज दुर्घटना भएमा तत्कालै समिति गठन हुने र कारण पत्ता लगाउने भए पनि सडक दुर्घटनामा भने पहिलोपटक समिति गठन भएको हो । दुर्घटनामा १५ यात्रुले ज्यान गुमाएका छन् भने १६ जना घाइते भएका छन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका थिए । सडक दुर्घटना बढ्न थालेपछि त्यसलाई घटाउने उपाय खोज्न प्रधानमन्त्री ओलीले गृह तथा भौतिक मन्त्रालयका पदाधिकारीलाई आज प्रधानमन्त्री निवासमा बोलाएर त्यस्तो निर्देशन दिएका हुन् ।
प्रकाशित समय ०८:३५ बजे


















