गृहपृष्ठ हिमपातले सुदूरपश्चिममा राजमार्ग अवरुद्ध
हिमपातले सुदूरपश्चिममा राजमार्ग अवरुद्ध
सुदूरपश्चिमका ७ पहाडी जिल्लामा तेस्रोपटक भारी हिमपात भएको छ । बुधबार रातिदेखि हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिउँ परिरहेको हो ।
हिमपात भएपछि यहाँ चिसो अत्याधिक बढेको छ । डडेल्धुरालगायत बैतडी, दार्चुला, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
बैतडीको दशरथ चन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाज लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिल्लीनारायण पाण्डेयले जानकारी दिए । उनले सदरमुकाम गोठालापानीमा समेत हिमपात भएरहेको बताए । बैतडीको खोड्पे बजार, ढोल्यामोट, श्रीभावर, मुस्याचोर, सतबाज लगायतका स्थानमा सडक अवरुद्ध छ ।

मुख्य राजमार्ग अवरुद्ध
हिमपातले पहाडी जिल्लाहरु बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बाजुरा र बझाङको सडक अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्गका रूपमा रहेको भीमदत्त र दशरथचन्द राजमार्ग अवरुद्ध छ ।
डडेल्धुराको भीमदत्त राजमार्गअन्तर्गत पर्ने सदरमुकाम अमरगढी भालुमारे, अजयमेरु गाउँपालिकाको अनारखोली बजार, गन्यापधुराको साहुखर्क, हगुल्टे, मेलखर्क लगायतका स्थानमा भारी हिमपातका कारण राजमार्ग अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । डोजरको सहायताले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको डीएसपी न्यौपानेले बताए ।
यस्तै दार्चुलाको उत्तरी क्षेत्र अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिंकर लगायतका ठाउँमा हिमपात भएको छ । डोटी जिल्लाका विभिन्न क्षेत्रमा पनि हिउँ परिरहेको स्थानीयवासीहरुले बनाएका छन् ।

हिमपात भएका कतिपय क्षेत्रमा विद्युत तथा सञ्चार सेवासमेत अवरुद्ध भएको छ । गत साताको हिमपातका कारण अवरुद्ध भएको विद्युत र टेलिफोन सेवा केही दिनअघि सुरु भए पनि पुनः अवरुद्ध भएको हो ।
हिमपातका कारण गएराति देखि नै बैतडीमा विद्युत अवरुद्ध भएको बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बिरबहादुर बिष्टले बताए । गाउँपालिकाको सतबाज क्षेत्रमा डेढ फिट जमेकाले यातायातका साधन चल्न नसकेको उनले बताए ।

प्रकाशित समय १३:१८ बजे

















