गृहपृष्ठ सभामुख चयन प्रक्रियामा भइरहेको ‘गतिविधि’ले संसदको मानहानी : सांसद देव
सभामुख चयन प्रक्रियामा भइरहेको ‘गतिविधि’ले संसदको मानहानी : सांसद देव
राष्ट्रियसभाका एक सांसदले सभामुख चयन प्रक्रियामा भइरहेको ढिलाइले संसदको मानहानी भएको बताएका छन् । बिहीबारको राष्ट्रियसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सभामुख चयनको विषय केही व्यक्तिको कारण रोकिएको आरोप लगाए ।
त्यसले प्रतिनिधिसभा र संघीय संसदको मानहानी भइरहेको सांसद देवको भनाइ छ । ‘सभामुख चयनको नाममा भइरहेको गतिविधिले संसदको मानहानी भइरहेको छ । यो मुद्दा अदालतमा जान सक्छ,’ उनले भने, ‘संसदीय लोकतन्त्रको, विधायिकाको अवमूल्यन भइरहेको छ ।’
उनले संवैधानिक व्यवस्थालाई पालना गर्दै सभामुख चयन गरिनुपर्ने बताए । ‘सभामुखको चुनाव सम्बन्धमा कानुनी प्रावधान माैजूदा छ । स्पष्ट संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा नियमावली छ । २७ गतेको प्रतिनिधिसभाको बैठकमा कति पनि ढिलो नगरी सभामुख चयनको प्रक्रिया अगाडि बढ्नुपर्दछ,’ उनको माग थियो ।
सांसद देवले नेकपामा लोकतान्त्रिक व्यवस्था र संविधानप्रति यदि साँच्चिकै आस्था भए यो प्रक्रियालाई अब धेरै दिन अड्काएर राख्नु नुहने बताए। ‘जतिसक्दो चाँडो सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्छ । संसदलाई बन्धक बनाइनु हुन्न,’ उनको भनाइ थियो ।
उनले सभामुखको निर्वाचन र प्रदेशको नामकरण संविधानको अक्षर र भावनाअनसार हुने बताए । ‘सभामुख चयन नियमावलीको स्पिरिटमा हुने कि पार्टीका दुईजना शीर्ष नेताको निरंकुशताको बन्दी हुने ?’ उनले प्रश्न गरे ।
प्रकाशित समय १४:१४ बजे

















