गृहपृष्ठ २० वर्ष नपुगी विवाह नगर्न मन्त्रीको आग्रह
२० वर्ष नपुगी विवाह नगर्न मन्त्रीको आग्रह
प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले किशोरीहरुलाई २० वर्ष पुरा नभई विवाह नगर्न आग्रह गरेका छन् । युवाको सहभागितामा लैंगिक हिंसा न्युनीकरण र यौन तथा प्रजनन् स्वास्थ्य अधिकार प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण तालिममा बोल्दै मन्त्री साहले कम उमेरमा छोरीको विवाह गरिदिने अभिभावक अपराधीसरह हुने बताए ।
प्रदेश २ सरकारले प्रदेशका छोरीहरुको हक अधिकारको लागि विभिन्न ऐन, कानुन ल्याएको मन्त्री साहले उल्लेख गरे । यस्ता अवस्थामा छोरीहरु पनि सशक्त हुनुपर्नेमा उनको जोड थियो । अहिले प्रतिस्पर्धाको युगमा पनि छोरीहरुको चाँडै विवाह हुने भएकाले शिक्षा आर्जनबाट वञ्चित हुँदै आएको उनले बताए । कम उमेरमै विवाह भई बच्चा जन्माउनाले शारीरिक र मानसिक समस्यासमेत हुने भएकाले शिक्षा र स्वास्थ्यमा असर पर्ने उनको भनाइ थियो ।
तालिम आयोजक समता फाउण्डेशनका अध्यक्ष प्रदिप पञ्जियारले प्रदेश २ को आठवटै जिल्लामा चेतना परियोजनामार्फत दलित महिलाविरूद्ध हुने लैंगिक हिंसाको उन्मुलन र यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको प्रवर्द्धन गर्न लागेको बताए । परियोजनाको क्रममा स्थानीय, प्रदेश र संघीय तहका दलित किशोरी, निर्वाचित जनप्रतिनिधि, कानुन नियामक निकाय, विधायक र सञ्चारमाध्यमलाई सक्रिय रूपमा संलग्न गराइने बताएका छन् ।

अध्यक्ष पञ्जियारले लैंगिकमैत्री नीति निर्माण र पैरवीमार्फत् दण्डहीनता र अन्यायको वर्तमान स्तरलाई रूपान्तरण गरी सामाजिक न्याय सुनिश्चित गर्नु अभियानको उद्देश्य रहेको बताए । स्थानीय दलित किशोरीको क्षमता अभिवृद्धि गरी प्रदेश २ मा दलित महिलाको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्न उनीहरूलाई परिवर्तनको संवाहकका रूपमा परिचालन गर्ने बताएका छन् । तालिममा धनुषा र महोत्तरीका ४० जना किशोरीहरुको सहभागिता रहेको छ ।
प्रकाशित समय १४:५३ बजे

















