गृहपृष्ठ सुदूरपश्चिम प्रदेशसभामा भिडियो कन्फरेन्स प्रविधि सुरु
सुदूरपश्चिम प्रदेशसभामा भिडियो कन्फरेन्स प्रविधि सुरु
सुदूरपश्चिम प्रदेश सभाले प्रदेशका नौ वटै जिल्लाबाट एक साथ भिडियो कन्फरेन्स गर्न सक्ने डिजिटल प्रविधि जडान गरेको छ । नौ जिल्लाका प्रतिनिधिहरुसँग एक साथ परिचयात्मक कार्यक्रम गरी सभामुख अर्जुनबहादुर थापाले बुधबार प्रविधिको उद्घाटन गरेका हुन् ।
प्रदेश सभा सचिवालयको बैठक कक्षमा क्यामेरा सहितको एलईडी मोनिटर, अडियो सिस्टम र २० एमबीपीएको इन्टरनेट जडान गरिएको छ । प्रदेशका सात पहाडी जिल्ला र कञ्चनपुर जिल्ला समन्वय समितिको हलमा समेत सोही प्रविधि जडान गरिएको छ । कैलाली जिल्ला समन्वय समिति प्रदेश सभा सचिवालयसँगै रहेको हुनाले कैलालीको टीकापुर नगरपालिकाको हलमा सो प्रविधि जडान गरिएको छ ।
भिडियो कन्फरेन्स उद्घाटनमा पहाडका सात वटै जिल्लाका जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु र टीकापुर नगरपालिकाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । प्रदेशसभा सचिवालयको भिडियो कन्फरेन्स हलमा सभामुख थापालगायत प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए ।
भिडियो कन्फरेन्स हलमा नौ स्थानबाट एकै पटक भिडियो कनेक्ट गरी सबै ठाउँमा एकै किसिमका भिडियो देखिने र अडियो सुनिने व्यवस्था गरिएको छ । सभामुख थापाले सो प्रविधिले प्रदेशसभाले सबै जिल्लासँग एक साथ गर्नुपर्ने छलफल आफ्नै हलमा बसेर सबैसँग गर्न सक्ने बताए । उनले प्रदेशसभा सदस्यहरु तथा समितिहरुले समेत स्थानीय जनतासँग आफ्नै कार्य कक्षबाट सिधा संवाद गर्न सक्ने बताए ।
विपद्को बेलामा समेत सोही प्रविधिबाट छलफल गरी समस्या समाधानका लागि छलफल गरी निर्णय गर्न सकिने सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)को सहयोगमा भिडियो कन्फरेन्स हल स्थापना गरेको हो । प्रदेशसभा सचिवालयले युएनडीपीकै सहयोगमा प्रदेशसभाको गतिविधि युट्युबमा लाईभ गर्ने लगायतको डिजिटल प्रविधि जडान गरेको छ ।
९ वटै जिल्लाका जनप्रतिनिधि तथा नागरिकले भिडियो कन्फरेन्समार्फत प्रदेशसभामा सुझाव दिनसक्ने तथा आफ्ना माग राख्न सक्ने व्यवस्थाले जनताका समस्या समाधान हुने सांसदहरुको विश्वास छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले भिडियो कन्फरेन्सबाट प्रदेशसभाले निर्माण गर्ने कानुनका बारेमा समेत जनताले सुझाव दिन पाउने बताए ।
भिडियो कन्फरेन्समार्फत ९ वटै जिल्लाका नागरिकले गुनासो र सुझाव राख्न पाएपछि प्रदेश सरकारका काममा समेत बढी निगरानी रहने अपेक्षा गरिएको छ । कन्फरेन्सलाई उद्घाटनमा मात्रै सीमित नराखी निरन्तरता दिए यसले राम्रो उपलब्धि हुने राष्टिय जनता पार्टी (राजपा)की प्रदेशसभा सदस्य मालामती रानाले बताइन् ।
प्रकाशित समय १८:३३ बजे

















