गृहपृष्ठ साढे ७ हजार होर्डिङ बोर्ड हटाइयो
साढे ७ हजार होर्डिङ बोर्ड हटाइयो
काठमाडौं महानगरलाई सफा र सुन्दर राख्ने उद्देश्यले नियमविपरीत राखिएका होर्डिङ बोर्ड हटाउने कार्य तीव्र पारिएको छ । महानगरले हालसम्म ७ हजार ८ सय दुई वटा होर्डिङ बोर्ड हटाएको छ ।
महानगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार ठूला विज्ञापन बोर्ड ३७ र ७ हजार ७ सय ६५ सानो साइजका बोर्ड हटाइएका हुन् । महानगरले बोर्ड हटाउने अभियान पुस २१ बाट सुरु गरेको थियो । पुसमा १ हजार ५ सय ४७ र माघमा ६ हजार २ सय ५६ बोर्डहरु हटाएका थिए ।
यस अवधिमा एयरपोर्टदेखि नयाँ बानेश्वर, विजुली बजारदेखि माइती घर, थापाथाली, त्रिपुरेश्वर हुँदै कालीमाटीसम्म तथा त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म अभियान सञ्चालन गरिएको थियो । त्यसैगरी माइतीघरदेखि कृष्ण पाउरोटी, कृष्ण पाउरोटीदेखि हात्तीसार, हात्तीसारदेखि नागपोखरी, नारायण चौर, गैरीधारा, वालुवाटार हुँदै महाराजगञ्जसम्म र वालुवाटारदेखि छाते ढुंगासम्मका क्षेत्रमा नियमविपरीत राखिएका बोर्डहरु हटाइएको हो ।
बोर्डमा रहेका फलाम, जस्ता आदिको लिलाम गर्ने महानगरको योजना छ । ‘लिलाम गर्न नमिल्ने बोर्डहरु डिस्पोज गर्छौँ,’ नगर प्रहरी प्रमुख सापकोटाले भने । उनका अनुसार १ वर्ष भित्र जथाभावी राखिएका बोर्डहरु हटाइसक्ने लक्ष्य रहेको छ । सबै बोर्ड हटाइसकेपछि डिजिटल बोर्ड व्यवसायमा जाने महानगरको योजना रहेको उनले बताए ।
बोर्ड हटाउन सर्वोच्च अदालतले पटक-पटक आदेश गर्दासमेत यसअघि काम अगाडि बढ्न सकेको थिएन । ४ वर्षपछि मात्र महानगरले तदरुकता देखाएको हो ।
प्रकाशित समय १८:१६ बजे

















