गृहपृष्ठ रेशम चौधरीलाई रिहा गर्नुपर्ने मागसहित थरूहट मोर्चा आमरण अनशनमा
रेशम चौधरीलाई रिहा गर्नुपर्ने मागसहित थरूहट मोर्चा आमरण अनशनमा
फागुन ५ देखि ३ दिन आमहड्ताल गर्ने योजना
सरकारले थारु समुदायको माग सम्बोधन नगरेको भन्दै थरुहट र थारुवान मोर्चा बिहीबारदेखि आन्दोलनमा उत्रिएको छ । मोर्चाले विभिन्न १४ बुँदे मागसहित धनगढीस्थित गुरही चोक (क्याम्पस चौक)मा आमरण अनसन सुरु गरेको छ ।
मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले हाल कैद सजाय भोगिरहेका सांसद रेशम चौधरी लगायतलाई रिहा गरिनु पर्ने मागसहित आन्दोलन थालिएको बताए । टीकापुर घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वको छानबिन समिति र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्न मोर्चाले माग राखेको छ ।
आफूहरुले राखेको माग सरकारले २० दिनसम्म कुनै सुनुवाई नगरेपछि आमरण अनसन सहितको आन्दोलनमा उत्रिन बाध्य हुनु परेको संयोजक थारुको भनाइ छ । शान्ति र सद्भावको लागि बिहीबारदेखि आन्दोलन घोषणा गरेको उनले बताए ।

आफ्नै नेतृत्वमा आमरण अनसन बसिरहेको र शुक्रबारदेखि देशव्यापी रुपमा प्रदर्शन गरिने संयोजक थारुले बताए । ‘त्यति गर्दा पनि मागप्रति सरकार गम्भिर नभए फागुन ५ देखि ३ दिन आमहड्तालको घोषणा गर्ने योजना छ,’ उनले भने । उनका अनुसार अनसनमा संयुक्त खस क्षत्री समाज नेपाल, खम्बुवान, थारु कल्याणकारी लगायतका संगठनले पनि ऐक्यवद्धता जनाएका छन् ।
सुदूरपश्चिम प्रदेश अमान्य रहेको बताउँदै मोर्चाले पहिचानको आधारमा १०+१ प्रदेश कायम गरी राज्यको पुनःसंरचना गर्नुपर्ने माग राखेको छ । थरुहट आन्दोलनको क्रममा २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १ नाबालकसहित ८ प्रहरीको ज्यान गएको थियो ।
सो घटनामा संलग्न रहेको अभियोगमा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित २७ जनाविरुद्ध विभिन्न मुद्दा चलाएको थियो । तर मोर्चाले राजनीतिक आन्दोलनको क्रममा घटना घटेको जनाउँदै राजनीतिक ढंगले नै समाधान खोजिनुपर्ने माग राख्दै आएको छ ।
प्रकाशित समय १९:१६ बजे
















