गृहपृष्ठ बम विस्फोटका पीडित परिवारलाई राखेपले दिएन क्षतिपूर्ति रकम
बम विस्फोटका पीडित परिवारलाई राखेपले दिएन क्षतिपूर्ति रकम
जनकपुरधाम उपमहानगरपालिकामा भेटिएका सोभित राउत ।
जनकपुरमा भएको बम विस्फोटको घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारले क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । राष्ट्रिय खेलकुद परिषदले प्रतिबद्धता गरेअनुसारको १० लाख क्षतिपूर्ति रकम उपलब्ध नगराएको पीडित सोभित राउतले गुनासो गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका १३ पिडारी गाउँमा रहेको कबर्डमा हलमा मंसिर २० गते शक्तिशाली पटका बम विस्फोटमा परेर गम्भीर घाइते भएका १० वर्षीय आलोक राउतको उपचारका क्रममा मंसिर २४ गते सुनसरीस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका क्रममा खुसियाली मनाउँदै गर्दा बम विस्फोट गराएको थियो । नपड्किएको बम बालक राउतले घरमा लगेर खेलाउने क्रममा विस्फोट भएको थियो ।
त्यसपछि खेदकुद परिषदले राउतको परिवारलाई १० लाख क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको थियो । तर, प्रतिबद्धता जनाएको रकम तीन महिनासम्म पनि पीडित परिवारले पाएका छैनन् । क्षतिपूर्ति रकमको आशामा पीडित परिवार कहिले जिल्ला प्रशासन कार्यालय कहिले जनकपुरधाम उपमहानगरपालिका कहिले प्रदेश सरकार त कहिले खेलकुद विकास समिति धनुषा धाउने गरेका छन् । क्षतिपूर्ति रकम माग्न जनकपुरधाम उपमहानगर कार्यालय आएका बेला भेटिएका सोभितले सरकारको लापर्बाहीले छोराको ज्यान गए पनि कुनै सहयोग नपाएको बरु उल्टै निराश बनाएको दुखेसो गरे ।
राष्ट्रिय खेलकुद परिषदले मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र परिवारका एक सदस्यलाई रोजगारी दिने प्रतिबद्धता जनाएको थियो । खेलकुद विकास समिति धनुषाका कार्यालय प्रमुख विनोद सिंहले परिषदले केही दिनभित्रै ५ लाख रुपैयाँ पठाउने तयारी गरेको बताए । ‘रकम आउनेबित्तिकै हामी पीडित परिवारलाई हस्तान्तरण गर्नेछौं,’ उनले भने, ‘केही दिनअघि मात्रै मृतक बालकका बाबु सोभितलाई खेलकुद विकास समितिमा कार्यालय सहयोगीमा रोजगारी दिइसकिएको छ ।’
प्रकाशित समय ११:३० बजे

















