गृहपृष्ठ कहिल्यै निको नभएको द्वन्द्वको डोब
कहिल्यै निको नभएको द्वन्द्वको डोब
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने ८२ वर्षीय शंकर महासेठ १६ वर्षदेखि बेपत्ता छोरो छत्रकुमार महासेठको अवस्थाबारे अनभिज्ञ छन् । तत्कालीन माओवादी पार्टीमा आबद्ध ३२ वर्षीय छत्रकुमारलाई २०६० साल कात्तिकमा माओवादी कार्यकर्ताले ‘मिथिलेश्वरको मौवाहीमा पार्टीको भेला छ’ भन्दै लिएर गएका थिए ।
छोराको पखाईमा शंकरको डेढ दशक बितिसकेको छ । ‘कतिबेला टुप्लुक्क आइपुग्छ कि जस्तो पनि लाग्छ,’ उनी भन्छन् । दुई नातिहरु सानै हुँदा आमाको मृत्यु भएर टुहुरा भएका शशीकुमार र सतिशकुमारलाई अहिले उनैले पालनपोषण गर्दै आएका छन् । अझै पनि शंकर छोराको अवस्था बुझ्न पटक–पटक जिल्ला प्रशासन कार्यालय धनुषा पुगिरहन्छन् । तर, जिल्ला प्रशासनबाट कुनै सहयोग नपाएको उनको गुनासो छ ।
छोराको अत्तोपत्तो नभएर चारैतिर खोजी गर्दा पनि नभेटाएपछि डराएर शान्ति सुरक्षाको लागि महेन्द्रनगर आएर बस्न थालेको उनी बताउँछन् । साविक भुचक्रपुर २ स्थायी बसोबास भएका उनी विस्थापित भएर क्षिरेश्वरनाथ पुगेका छन् ।
महोत्तरीको सोनपा गाउँपालिका ३ बस्ने २९ वर्षीय राम श्रेष्ठ मण्डल कक्षा ७ मा पढ्दै गर्दा २०६० साल कात्तिक २२ गते राति परिवारका ६ सदस्यलाई घरबाटै लगियो । माओवादी पार्टीमा लागेको आरोपमा बुवा राजेन्द्र मण्डल, छिमेकी दाजु भागनारायण यादव, काका रामचरित्र र रामदेव, विन्देश्वर र दाजु सिंहेश्वरलाई घरमा घेरा हालेर नेपाली सेना र सशस्त्र प्रहरीको टिमले लगेको उनको मानसपटलमा ताजै छ ।
माओवादीमा लागेको आरोपमा बुवालगायत ६ जनालाई एकैपटक समातेर सेनाको टोलीले लगे पनि अहिलेसम्म उनीहरुको अवस्थाबारे मण्डललाई कुनै जानकारी छैन । ‘अझै पनि बुवा कहिले घर आउनुहोला भन्ने लाग्छ,’ उनले भने, ‘राज्यको जिम्मेवारीहिनताका कारण १६ वर्ष बितिसक्दा कुनै जानकारी पाउन सकिएन ।’ उनी अन्योलमा छन् । स्पष्ट खबर नआए काजक्रिया गर्न पनि मिल्दैन । राज्यले भने क्षतिपूर्तिबापत भन्दै १० लाख प्रतिव्यक्ति १० लाख रुपैयाँ दिइसकेको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका ११ खयरमारा बस्ने बलराम लायो मगरका १७ वर्षीय छोरा खिमबहादुरलाई तत्कालीन माओवादीले २०६१ सालताका पार्टीको काममा खटिनुपर्छ भन्दै घरबाट लिएर गयो । ‘तर अहिलेसम्म छोरो फर्किएन,’ बलरामले आँसु खसाल्दै भने, ‘अहिले छोरो के गर्दै छ ? कहाँ छ ? छ कि छैन ? केही पत्तो छैन ।’ छोराको अवस्था बुझ्न उनी कहाँ कहाँ धाएनन्– जिल्ला प्रशासन कार्यालय, तत्कालीन स्थानीय शान्ति समिति, बेपत्ता पारिएका व्यक्ति छानबिन आयोग । तर, कसैले चित्तबुझ्दो उत्तर नदिएको उनको गुनासो छ ।
धनुषाको लक्ष्मीनिवास हाल बटेश्वर गाउँपालिका १ बस्ने तारादेवी महतोका ४० वर्षीय पति रामकरणलाई माओवादी पार्टीमा लागेको भन्दै नेपाली सेनाले हत्या गरेको थियो । २०६० साल कात्तिक ८ गते राति धनुषाकै तारापट्टि सिरसियाको थुमौनामा रहेको पोखरीमा गोली हानेर हत्या गरेपछि लास लिएर नेपाली सेनाको टोली गयो । पतिको मृत्युको खबरले साना तीन छोरी र ६ महिनाको काखे छोरो लिएर उनी घर छाडेर भागिन् । पतिको हत्यापछि लाससमेत नदिएपछि अहिलेसम्म दाहसंस्कारसमेत गर्न नपाएको उनी बताउँछिन् । त्यसपछि उनी विस्थापित भएर महेन्द्रनगरमा पुगिन् ।
तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षको कारबाहीमा हजारौं सर्वसाधारणको हत्या भयो । हजारौंलाई बेपत्ता पारियो । तर, शान्ति सम्झौतासँगै सत्तामा पुगेपछि कसैका लागि यी कुनै मुद्दा बनेनन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग नाम मात्रमा सीमित छन् ।
पीडित नागरिक वर्षौंदेखि पीडामा छन् । उनीहरुको घाउमा मलम लगाउने दायित्व तत्कालीन माओवादी र वर्तमान सरकारको हो । राजतन्त्र फालेर हतियार बिसाउँदै खुला राजनीतिमा आएको तत्कालीन नेकपा माओवादी र तत्कालीन नेकपा एमाले मिलेर अहिले मुलुककै ठूलो दल नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेको छ ।
त्यही दलको नेतृत्वमा इतिहासकै शक्तिशाली (राजनीतिक रुपमा) सरकार गठन गरेको छ । तर, द्वन्द्वपीडितलाई चित्तबुझ्दो जवाफ दिन उनीहरुले चाहेको देखिँदैन न त प्रतिबद्ध नै देखिन्छ । सरकार र सबै राजनीतिक दलले जनतालाई भोट बैंकका रुपमा मात्र नलिएर उनीहरुका सुखदुःखको साथी बन्न सकेमात्र देशले परिवर्तनको खास अनुभूत गर्नेछ ।
प्रकाशित समय १७:०२ बजे

















