गृहपृष्ठ धनगढीका सबै विद्यालय बन्द गर्न निर्देशन

धनगढीका सबै विद्यालय बन्द गर्न निर्देशन

कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको बेला धनगढी उपमहानगरपालिकाले त्योभन्दा अगावै विद्यालय बन्द गर्न निर्देशन जारी गरेको छ । कक्षा १२ सम्मको विद्यालय सञ्चालन जिम्मेवारी स्थानीय तहलाई छ । संविधानको यसै अधिकारलाई उपभोग गर्दै उपमहानगरले यस्तो सूचना जारी गरेको हो ।

धनगढी उपमहानगरपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नगर क्षेत्रका सबै माध्यमिक तहसम्मको शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको हो । उपमहानगरपालिकाको निर्णयअनुसार आइतबारदेखि लागू हुनेगरी शैक्षिक संस्था बन्द हुने छन् ।

उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शैक्षिक संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलाप अर्को सूचना नभएसम्म बन्द गर्न निर्देशन दिइएको छ । कोरोना भाइरसको संवेदनशीलताका लागि धनगढी उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका वार्षिकोत्सव, भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरुको भीडभाड हुने किसिमका कार्यक्रमहरु आयोजना नगर्न मेयर नृपबहादुर वडले आग्रह गरे ।

विद्यालय बन्द गर्ने निर्णय गर्नुअघि उपमहानगरपालिकाले सामुदायिक तथा निजी विद्यालयका पदाधिकारीहरुसँग छलफल गरेको थियो । सरकारले चैत ५ गतेभित्र परीक्षा गरिसक्न आग्रह गरेलगत्तै उपमहानगरले परीक्षासमेत नलिएर विद्यालय बन्द गर्न निर्देशन दिएपछि अन्योल बढेको छ ।

कोरोना भाइरसको संक्रमण नै नदेखिएका बेला विद्यालय नै बन्द गर्ने निर्णयले विद्यार्थीहरुको पढाई प्रभावित भएको छ । वर्षको अन्तिम सत्रमा पढाइ चलिरहेको र परीक्षासमेत गर्नुपर्ने बेलामा लिइएको यस्तो निर्णयले समस्या उत्पन्न गरेको छ । कोर्ष सक्न र समयमै परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्ने कार्यक्रम उपमहानगरको यस निर्णबाट प्रभावित भएको छ ।

सरकारले कोरोना भाइरस संक्रमणको त्रासका कारण विद्यालयहरूलाई छिटो परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो तर धनगढी उपमहानगरले भने आइतबारदेखि नै अनिश्चितकालका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड– १९) श्वासप्रश्वासबाट फैलने मात्र नभइ हात मिलाउँदा, नजिकै बस्दा, हिँड्दा, बोल्दासमेत हावाको माध्यमबाट सर्ने हुनाले सतर्कता अपनाउन उपमहानगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित समय १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु