गृहपृष्ठ ‘कोरोनाका कारण औषधी अभाव हुन दिन्नौं’

‘कोरोनाका कारण औषधी अभाव हुन दिन्नौं’

नेपाल औषधी उत्पादक संघले कोरोनाभाइरसको प्रभावका कारण बजारमा औषधीको अभाव हुन नदिने बताएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औषधी पर्याप्त रहेको जानकारी गराएको हो ।

हाल संघमा तीन महिनासम्मका लागि आवश्यक औषधी, कच्चा पदार्थ र प्याकेजिङ म्याटेरियल मौज्दात रहेको संघका महासचिव विप्लव अधिकारीले बताए । चीनबाट सुरु भई शुक्रबार दिउँसोसम्ममा विश्वका ८८ देशमा फैलिसकेको कोरोनाको नेपालमा पनि प्रभाव पारेको छ । भाइरसकै कारण भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ ।

‘नेपाल ७५ प्रतिशत औषधीको माग पूरा गर्न सक्षम छ, हालको स्थितिमा औषधीमा विदेशी कम्पनीलाई अनुनय विनय र आग्रह गनुपर्ने अवस्था छैन,’ महासचिव अधिकारीले भने । उनले भूकम्प र नाकाबन्दी जस्ता विपदको समयमा पनि औषधीको अभाव हुन नदिएको स्मरण गराउँदै अहिलेको स्थितिमा पनि अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

विदेशीलाई हारगुहार गर्नुको सट्टा नेपाली औषधी उत्पादकसँग सहकार्य गरेर अघि बढ्न संघले सरकारलाई आग्रह गरेको छ । ‘हामी निजी औषधी उद्योगहरुसँग सरकारले सहयोग र सहकार्य गरेमात्र पुग्छ । हामी नेपालमा उत्पादन हुनसक्ने कुनै पनि औषधी अभाव हुन दिने छैनौं,’ संघका महासचिव अधिकारीले भने । नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधी पु¥याउन संघ तत्पर र सक्षम रहेको उनले दोहो¥याए । सरकारले विपदको समयमा मात्र औषधीको महत्व बुझ्ने गरेको संघको आरोप पनि छ ।

नेपालमा ७५ प्रतिशत औषधी उपलब्ध गराउन सक्ने क्षमता भए पनि बजारमा ४५ प्रतिशतमात्र नेपाली औषधी जाने गरेको संघका अध्यक्ष दिपकप्रसाद दाहालले बताए । विदेशीको भर नपरी स्वदेशी उत्पादनमा सरकारले जोड दिनुपर्ने उनको तर्क छ । ‘देशलाई औषधीमा आत्मनिर्भर बनाउन यस परिस्थितिले सरकारको ध्यान जाओस्,’ दाहालले भने ।

प्रकाशित समय १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु