गृहपृष्ठ ‘चार दिवारभित्र’ खुम्चिएको होली
‘चार दिवारभित्र’ खुम्चिएको होली
रंगहरूको पर्व होली २०७६ पहाडी जिल्लामा मनाइएको छ । विभिन्न सार्वजनिक कार्यक्रमका लागि १५ दिन अगावैदेखि निकै तयारी हुने र फरक खालको भाइचाराको विकास गराउने होली यो वर्ष भने खल्लो रह्यो । कतिपयले विगत वर्षको होलीको तस्बिर फेसबुकमा हालेर सम्झना गरे । अधिकांशले कार्यालय परिसर र घरमा होली मनाएका छन् । मूल सडक सुनसान रहे ।
होली पर्व यति खल्लो त महाभूकम्प आएको वर्ष पनि नभएको काठमाडौंबासी बताउँछन् । ‘पहिला पहिला होली कस्तो मनाइन्थ्यो, यसपाली त सम्झनामै सीमित भयो,’ चितवन घर भएर १३ वर्षदेखि काठमाडौंको मध्य बानेश्वरमा होस्टल चलाउँदै आएकी अञ्जना थापा भन्छिन्, ‘यो वर्ष होली होली जस्तो नै रहेन । उनले पनि छिमेकीसँग बन्द कोठामा होली मनाइन् ।
आरएल सप्लायर्सकी प्रोपाइटर लक्ष्मी खड्काको होली पनि उस्तै रह्यो । मध्य बानेश्वरमा १८ वर्षदेखि लिकर पसल सञ्चालन गर्दै आएकी उनलाई पनि यो वर्षजस्तो विरसिलो कहिल्यै लागेन । ‘विगतमा होलीको रौनक बेग्लै हुन्थ्यो, पसलमा पनि भरिभराउ मान्छे हुन्थे, सडक रंगिएका युवाहरुले भरिन्थ्यो, सडकभरि रंग पोतिएको हुन्थ्यो, युवाहरू नाच्दै गाउँदै रमाइलो गर्थे,’ उनले भनिन्, ‘यो वर्ष त होली आएको गएको पत्तै भएन ।’ उनले पनि केही साथी र परिवारका सदस्यसँग खानपिन गरेर होली मनाइन् ।
चितवनकै उज्वल क्षेत्रीलाई पनि यो वर्षको होलीले कुनै प्रभाव छाड्न सकेन । विगतमा वर्षमा धुमधामसँग होली मनाउने उनले यो वर्ष परिवारसँग रातो टिका लगाएर होली मनाए । ‘बाहिर निस्किएर होली मनाउने माहोलै बनेन यो वर्ष,’ उनले भने ।
होली चार दिवारभित्र सीमित हुनुको कारण अरु केही नभएर कोरोनाभाइरस हो । सरकारले कोरोनाको सम्भावित ‘संक्रमण’ रोक्न भन्दै नभिज्न र भीडभाड नगर्न सूचना जारी गरेपछि राजधानीबासी सतर्क बनेका हुन् । कोरोना विश्वका एक सयभन्दा बढी देशमा फैलिएपछि सरकारले सम्भावित ‘आगमन’ रोक्न नागरिकलाई सूचित गरेको छ । विश्वव्यापी बन्दै गएको कोरोनाबाट सोमबार बिहानसम्म १ लाख ११ हजार ५४२ जनामा संक्रमित भइसकेका छन् भने ३ हजार ८८४ जनाको मृत्यु भइसकेको छ ।
कोरोना त्रासका कारण राजधानलगायत देशका ठूला सहरका बासिन्दा आफैं पनि सजग बनेपछि सडकहरू दिनभरजसो सुनसान बने । काठमाडौंका सडकमा पनि लोला र रंग बोकेर खासै मानिस उत्रिएनन् । विगतमा जस्तो मदिरा सेवन गरी सडकमा मनपरी सवारी गुडाउने क्रम पनि नियन्त्रित देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
होली पर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले उपत्यकाका ७५ ठाउँमा जाँचका लागि पिकेट ड्युटी राखिएको र १४ वटा मोबाइल टिम खटाइएको महाशाखा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भीमकुमार ढकालले जानकारी दिए । होली पर्वमा यो वर्ष उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने १ हजार ९४१ चालकलाई महाशाखाले कारबाही गरेको उनले बताए । गत वर्षको तुलनामा यो संख्या कम हो । गत वर्षको होलीमा उपत्यकामा २ हजार ३१४ चालक कारबाहीमा परेका थिए । त्यस्तै होलीको दिन दुर्घटनामा परी गत वर्ष दुई जनाको ज्यान गएको थियो भने ५ जना गम्भीर घाइते भएका थिए । यो वर्ष केहीमात्र सामान्य दुर्घटना भएको महाशाखा प्रमुख ढकालले बताए ।
‘विगतको समयमा जस्तो सडकमा उच्छृंखल गतिविधि नगरी रंगको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना तथा सद्भाव साटासाट गरेर शान्तिपूर्ण तवरले मनाएको पायौं,’ न्युज कारोबारसँग उनले भने, ‘विगतमा जस्तो सार्वजनिक कार्यक्रम पनि भएनन्, मानिस मूल सडकमा पनि आएनन् तर परिवार र साथीभाइ बसेर निकै रमाइलो गरेको पाएका छौं ।’ होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउन ५६६ ट्राफिक प्रहरी खटिएको ढकालले जानकारी दिए ।
तस्बिर : सामाजिक सञ्जाल
प्रकाशित समय २१:१५ बजे

























